कोविड कहर: उदयपुरमा आज रातिदेखि निशेधाज्ञा

२0७८ बैशाख २४ शुक्रबार
कोविड कहर: उदयपुरमा आज रातिदेखि निशेधाज्ञा

उदयपुर, वैशाख २४


दिनहुँ दुईदर्जनभन्दा बढी कोविड संक्रमित थपिदै गएपछि उदयपुरमा निशेधाज्ञा लागू गर्ने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) बैठकले २४ गते शुक्रबार मध्यरातिदेखि ३१ गतेसम्म (सातादिन) निशेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । 


बिहीबार ७ महिलासहित २३ जना नयाँ संक्रमित देखिएसँगै जिल्लामा १ सय २८ जनामा कोविड पुष्टि भएपछि डिसिएमसी निशेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । बिहीबार देखिएका संक्रमितमा सदरमुकाम त्रियुगामा ५ महिलासहित १३ जना छन् भने बेलकामा १ महिलासहित ५ जना छन् । चौदण्डीगढीमा २ पुरुष र कटारीमा १ पुरुष संक्रमित थपिएका छन् । उदयपरगढी र लिमचुङबुङ गाउँपालिकामा पनि १–१ जना संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । 


शुक्रबार थपिएका नयाँ २३ सहित उदयपुरमा संक्रमितको संख्या ४८ महिला र ८० पुरुष गरी १ सय २८ पुगेको छ । अघिल्लो दिन २७ जनामा संक्रमण देखिएको थियो भने मंगलबार ३३ जनामा पुष्टि भएको थियो । पछिल्लो ३ दिनमा संक्रमितको संख्या घट्दो देखिएको सुबेदीले बताए । 


स्वास्थ्य कार्यालयका तथ्यांक शाखा प्रमुख उमेश लुईटेलका अनुसार स्थानीयतहमध्ये सबभन्दा बढी त्रियुगा नगरपालिकामा संक्रमितको संख्या ८६ पुगेको छ । जसमध्ये महिला ३६ र पुरुष ५० छन् । चौदण्डीगढी नगरमा ४ महिला र १२ पुरुष गरी १६ संक्रमित भेटिँदा कटारी नगरमा ४ महिलासहित ८ र बेलका नगरमा २ महिलासहित ८ जनामा कोविड भेरिएन्ट देखिएको छ । त्यस्तै रौतामाई गाउँपालिकामा १ महिलासहित ५ र लिमचुङबुङ गाउँपालिकामा १ पुरुष संक्रमित फेला परेको लुईटेलले बताए । 


कोविडका कारण शुक्रबार एक बृद्धाको मृत्यु भएको छ । कटारी नगरपालिका ४ की ८३ वर्षीया बृद्धाको घरमै मृत्यु भएसँगै मृतक संख्या ४ पुगेको लुईटेलले बताए । उनका अनुसार यसअघि चौदण्डीगढी नगरपालिका ६ का ७० वर्षीय बृद्ध र चौदण्डीगढी ५ का ५५ वर्षीय पुरुष तथा त्रियुगा नगरपालिका ६ की ३४ वर्षीया महिलाको कोविडले ज्यान दिएको थियो ।


एकपछि अर्को गरी संक्रमितहरु थपिदै गएका कारण परिस्थितिलाई भयावह हुनबाट रोक्न जिल्लामा निशेधाज्ञा लागू गर्ने निर्णय भएको डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंंढाईले बताए । गत १८ गतेको निर्णय अनुसार वैशाख १९ देखि २५ गतेसम्म ३ पाङ्ग्रेभन्दा माथिका सबै सवारी साधन चलाउन रोक लगाइएको थियो भने बजार पसल विहान १०ः०० देखि ३ः०० बजेसम्म मात्र खुल्ला गरिएको थियो । 


संक्रमितको ग्राफ एक्कासी बढ्दै गएपछि अद्र्धनिशेधाज्ञा लागू गरेको ५ दिन नबित्दै पूर्ण निशेधाज्ञा गर्नुपर्ने अवस्था सिर्जना भएको सिडिओ सेंढाईले बताएका छन् । सेंढाईका अनुसार परिस्थिति जटिल हुन नदिन निशेधाज्ञा अवधिमा खाद्यान्न, दुध डेरी, खाना पकाउने ग्यास, निर्माण सामग्रीजस्ता अत्यावश्यक पसल र डिपार्टमेन्टको ग्रोसरी कष विहान ६ः०० देखि ९ः०० बजेसम्म खुल्ला राख्ने निर्णय भएको छ । 


होटल, पाटी प्यालेस, खाजा घर तथा क्यान्टिनहरु पूर्णरुपमा बन्द गर्ने तथा पाटी प्यालेसमा बिबाह, ब्रतबन्धलगायत कार्यक्रमहरु पूर्णत बन्देज गरिने छ । निशेधाज्ञाको अवधिभर सबैखाले सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । खाद्यान्न, लुब्रिकेन्ट, ग्यास, खानेपानी, औषधिलगायत अत्यावश्यक उपभोग्य सामग्री, निर्माण सामग्री, एम्बुलेन्स, दुध डेरी, औषधि पसल ओसार पसारमा परिचय खुलाएर हिड्न दिइनेछ । त्यसो गर्दा कडा सुरक्षा सतर्कता अपनाउनुपर्ने छ । 


राष्ट्रिय गौरवका योजना आयोजना सञ्चालनमा निर्माण कार्य सुचारु गर्न दिने । त्यसका लागि निर्माण सामग्री ओसार पसार गर्न रोक नलगाउने । सार्वजनिक तथा नीति निर्माण कार्य गर्दा निर्माणस्थलमै मजदुरलाई खाने बस्ने व्यवस्था मिलाउने । कामदारलाई एक ठाउँबाट अर्को ठाउँ ओसार पसार गर्दा समुहगत रुपमा नगर्ने । 


खाद्य, सामग्रीको कृतिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने, जम्माखोरी, लुकाउने वा आपूर्तिमा अवरोध गनेमाथि संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुुसार कारबाही गरिने छ । 


निशेधाज्ञाको अवधिमा उद्योग तथा कलकारखाना सञ्चालन तथा निर्माण कार्यलाई निरन्तरता दिने तर, कडा सुरक्षा सतर्कता अपनाउनुपर्ने छ । त्यसका लागि सकेसम्म कम जनशक्ति परिचालन गर्ने र मजदुर कामदारलाई उद्योग परिसरमै खाने बस्ने व्यवस्था मिलाउनुपर्नै छ । उनीहरुका लागि छुट्टै क्वारेन्टीनको व्यवस्था पनि गर्नुपर्ने निर्णय भएको छ । 


त्यस्तै बिबाह कार्यमा एउटा जीपमा बढीमा ५ जनाभन्दा बढी सवार हुन नपाउँने र २ वटासम्म गाडी प्रयोग गर्दा सम्बन्धित व्यक्तिको परिचय खुलाएर हिड्न दिइने छ । मृत्यु संस्कारमा कोरा बस्नुपर्ने वा बिरामीको कुरुवा बस्नै पर्ने व्यक्ति अन्यत्र जानु पर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट पास (अनुमतिपत्र) लिनुपर्ने छ । पास लिनका लागि तोकिएको ढाँचामा निवेदन लेखी आफ्नो इमले ठेगाना खुलाएर सोझै प्रशासन कार्यालयलाई मेल गर्न आग्रह गरिएको छ ।    


डिसिसिएमसीको निशेधाज्ञा लागू हुनुअघि नै स्वास्थ्य उपचारबाहेक अन्य कार्यमा प्रयोगमा रहेका अक्सिजन सिलिण्डर भए अनावश्यक प्रयोग नगर्न अनुरोध गर्दै सम्बन्धित अक्सिजन उद्योग वा अस्पतालमा ३ दिनभित्र बुझाउन आग्रह गरिएको छ ।