प्रदेश सरकारको कोविड राहतः ज्यान गए २५ लाख

२0७८ बैशाख २३ बिहीबार
प्रदेश सरकारको कोविड राहतः ज्यान गए २५ लाख

उदयपुर, वैशाख २३

प्रदेश नंं. १ सरकारले हाल महामारीको रुपमा फैलिएको कोविड कहरमा खट्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई राहत प्याकेजको कार्यक्रम ल्याएको छ । प्रदेश मन्त्रीपरिषद्को को बुधबार (वैशाख २२ गते) बसेको बैठकले कोविड रोकथाम, पहिचान र उपचारमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी, चालक र सरसफाईकर्मीलाई खाना, खाजा र बस्ने बाससँगै ५० प्रटिशत अतिरिक्त भत्ता दिने निर्णय गरेको छ । 


त्यस्तै कोविड पहिचान, रोकथाम र उपचारमा खटाइएका स्वास्थ्यकर्मी, कर्मचारी, चालक र सरसफाईकर्मीको कोविडका विरामी परे सम्पूर्ण उपचार खर्च, खानेबस्ने व्यवस्था प्रदेश सरकारले बेहोर्ने छ । कोविड सुरक्षा, पहिचान, रोकथाम र उपचारको क्रममा कुनै कर्मचारी, स्वास्थ्यकर्मी, चालक तथा सरसफाईकर्मीको ज्यान गएको खण्डमा मृतक परिवारलाई २५ लाख राहत दिने निर्णयसमेत प्रदेश सरकारले गरेकोछ । 

 

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले महामारीका बेला कोविड संक्रमितको पहिचान, सुरक्षा, उपचारजस्ता कार्यमा कर्मचारी, स्वास्थ्यकर्मीलाई उत्साहका साथ काम गर्न प्रोत्साहन गर्न यस्तो राहत प्याकेजको कार्यक्रम ल्याइएको सामाजिक विकास मन्त्री उषाकला राइले बताईन् । 


मन्त्री राईका अनुसार यस्तो महामारीका बेला कोविड संक्रमितको पहिचान, विरामीको उपचार, ओसारपसार र मृतक संक्रमितको शव व्यवस्थापनजस्ता कार्य अत्यन्त जोखिमयुक्त भएकाले प्रदेश सरकारले राहतको कार्यक्रम ल्याएको हो । यस्तो आकर्षक राहत प्याकेज देशका ७ वटै प्रदेश सरकारमध्ये १ नंं. प्रदेशले मात्र ल्याएको उनको भनाई छ । 


मन्त्रीपरिषदका निर्णयहरुः 
१. प्रदेश सरकारद्वारा खटाई कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ‌ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड १९ का कारणबाट मृत्यु भएमा निजको परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट २५,००,०००।– (पच्चिस लाख) रूपैयाँ प्रदान गर्ने ।   

 

२. प्रदेश सरकारद्वारा खटाई कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ‌ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू कोभिड १९ बाट संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने। साथै, यसरी कोभिड १९ बाट संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने ।

 

३. कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलव स्केलको पचास (५०) प्रतिशत जोखिम भत्ता प्रदान गर्ने।  

 

४. कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभई होटल क्वारेन्टिन बस्नु पर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टिन तथा चालक, सफाइकर्मी, कार्यालय सहयोगीका साथै व्यवस्थापनमा खटिने अन्य कर्मचारीहरूका लागि प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजासहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गर्ने।

 

५. उपर्युक्त बमोजिमको क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने।