उदयपुरमा नयाँ २७ सहित संक्रमित संख्या १ सय ५ 

२0७८ बैशाख २२ बुधबार
उदयपुरमा नयाँ २७ सहित संक्रमित संख्या १ सय ५ 

उदयपुर, वैशाख २२


उदयपुरमा बुधबार थप २७ नयाँ कोविड भेरिएन्टका संक्रमित देखा परेका छन् । १४ महिला र १३ पुरुष थपिएसँगै जिल्लामा कोविड संक्रमितको संख्या १ सय ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


यसअघिजस्तै सबभन्दा बढी संक्रमितहरु त्रियुगा नगरपालिकामै देखिएका छन् । बुधबारका २७ मध्ये १० महिलासहित १८ संक्रमित त्रियुगाका छन् । त्यस्तै चौदण्डीगढी नगरपालिकाका ४ मध्ये २ महिला छन् । कटारीका ५ संक्रमितमध्ये १ महिला र ४ पुरुष तथा  १ पुरुष संक्रमित बेलका नगरपालिकाका छन् । 


१ महिलासहित ३ जनाको हालसम्म ज्यान कोविडका कारण गएको छ । एक महिलाको वैशाख ५ गते बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने एक पुरुषको अघिल्लो दिन र बुधबार थप एक पुरुषको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्यले जनाएको छ । बेलटारका ७० वर्षीय बृद्धमा उपचारको क्रममा अस्पतालबाटै कोविड संक्रमण भएको आफन्तले जनाएका छन् ।


घुमफिरको क्रममा भारतको सिलिगुढीमा लडेर घाईते भएका उनी केही समयअघि घर आएर उपचारका लागि धरान लगिएका थिए । उपचारकै क्रममा दुईपटकको परीक्षणमा कोविड नेगेटिभ देखिएको उनीमा सोमबारको परीक्षणमा भने पोजेटिभ देखिएका थिए । पोजेटिभ देखिएको दुईदिनमै उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।