कटारी डिभिजन वनको भवन छिट्टै बन्ने

२0७८ बैशाख २१ मंगलवार
कटारी डिभिजन वनको भवन छिट्टै बन्ने

कटारी, वैशाख २०

 

 डिभिजन वन कार्यालय कटारीको अत्याधुनिक भवन निर्माण कार्य धमाधम भईरहेको छ । वर्षाैंअघि निर्माण भएको भवन २०७२ को भूकम्पले क्षतिग्रस्त पारेपछि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको डिभिजनको भवन केहीसमयभित्रै सम्पन्न गर्नेगरी दु्रतगतिमा निर्माण भईरहेको डिभिजनले जनाएको छ । 

 

भूकम्पले भत्काएर जिर्ण पारेको भवनमा प्रशासनले रातो स्टीकर टाँसेपछि बस्न नमिल्ने भएर डिभिजनको कार्यालय कटारी बजारमा भाडाको घरमा सञ्चालन गर्नु परेको छ । भवनविहीन भएको डिभिजनका लागि प्रदेश सरकारको सहयोगमा नयाँ भवन निर्माण सुरु भएको हो ।

 

कोविड–१९ का कारण काम सुरु गर्न ढिलाई भएकाले गतवर्ष सुरु भवन बहुवर्षीय योजनामा रुपान्तरण गरी निर्माण भईरहेको डिभिजन वन अधिकृत (डिएफओ) फडिन्द्र पोखरेलले बताए । उनका अनुसार मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक ४ करोड ३० लाख ९८ हजार ८ सय ७२ रुपैंयामा भवन निर्माण सुरु भएको हो । जसमध्ये हालसम्म तेस्रोत तलाको ढलाई भईसकेको छ । 

 

डिएफओ पोखरेलका अनुसार ४ करोड ६७ लाख ३० हजार ४ सय ९५ रुपैंया लागत मूल्यको प्राविधिक इस्टीमेट भए पनि निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा ३४ लाख कम मूल्यमा मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौंले भवन बनाउने जिम्मा पाएको छ । साविक डिभिजन वन कार्यालय परिसरमै निर्माणाधीन भवन ३ तल्ले ३० कोठाको हुने उनले बताए ।

 

आधुनिक र सुविधासम्पन्न भवन अपाङ्गतामैत्री, खानेपानी र पुरुष–महिला शौचालयसहितको हुने उनले बताए । आउँदो २०८० साउन २८ गतेभित्र बनाईसकेर हस्तान्तरण गर्नेगरी भवनको काम भईरहेको र हालसम्म ५५ प्रतिशत सम्पन्न भईसकेको डिएफओ पोखरेलले बताए । 
    
क्याप्सनः डिभिजन भवन सिल्यान्यास गर्दै प्रदेश वनमन्त्री कुसियत । तस्विरः महेश्वर