कोविड कहर, सडक सुनसान, बजार १० देखि ३ बजेसम्म मात्र खुल्ने

२0७८ बैशाख १९ आईतवार
कोविड कहर, सडक सुनसान, बजार १० देखि ३ बजेसम्म मात्र खुल्ने

उदयपुर, बैशाख १९


आजदेखि सार्वजनिक तथा नीजि गाडी सञ्चालनमा रोक लागेपछि उदयपुरका सडक सुनसान भएका छन् । कोविड भेरिएन्टको फैलदो संक्रमण रोक्न उदयपुरमा यातायात बन्द र बजार पसल विहान १० देखि दिउसो ३ः०० बजेसम्म मात्र खुल्ने निर्णय भएपछि सडक सुनसान भएका हुन् । 

 

जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी)ले आईतबारदेखि लागु गरेको सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा रोकले यस्तो अवस्था सिर्जना भएको हो । मान्छे आउजाउ गर्ने यातायात र भीडभाड हुने बजार पसल नै भएकाले आउँदो २५ गतेसम्म यातायात बन्द र बजार १०–३ बजे गरिएको डिसिसीएमसीले जनाएको छ । 


डिसिसिएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईका अनुसार जिल्लामा पछिल्लो समय संक्रमित एक्कासी बढेपछि थप खतरा हुन नदिन यस्तो निर्णय गर्नु परेको हो । विहानैदेखि गाईघाट बजार सुनसान छ । गाईघाटसँगै कटारी, बेलटार, रामपुर र मुर्कुची बजारमा यातायात चलेका छैनन् भने पसल विहान १०ः०० बजे मात्र खुलेका छन् । 


यो निर्णयले अधिक व्यस्त हुने मदन भण्डारी लोकमार्ग पनि ठप्प भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको बैकल्पिक सडक धरानदेखि चतारा–बेलटार–गाईघाटु–कटारी छिचोल्दै सिन्धुलीबाट हेटौंडा जोडिने मदन भण्डारी लोकमार्गमा गाडी चल्न रोकिएका छन् ।


डिसिसिएसमीले ३ पाङ्ग्रेभन्दा माथिका सबै सवारीमा रोक लगाएकोल बजारमा सवारी सुनसान छ । यात्रुबाहक बस र मालबाहक ट्रकदेखि ट्याक्टर, जीप, कार, भेन र अटो रिक्सासम्म बन्द गरिएको र एकजना मात्र सवार भएर मोटरसाईकल चल्न दिइएको छ । एम्बुलेन्स, प्रेस, खाद्यान्न, दुधजन्य तथा खाद्यान्न बोकेका र शबबाहनलाई निश्चित संख्या तोकेर हिड्डुल गर्न दिइएको छ । बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुलाई परिचयपत्र बोकेर सुरक्षा मापदण्डभित्र रही सवारीमा आउजाउ गर्न दिइएको छ । 


यसअघि लाग्दै आएका साप्ताहिक हाटबजार पनि पूर्णतः बन्द हुनेछन् । बन्दको अवधिमा खाद्यान्न, औषधि ओसारपसार र आपूर्तिमा अवरोध आउन दिइने छैन । बन्दको अवस्थामा हुने  कालोबजारी र अवैधानिक कार्यको नियमित अनुगमन गरिनेछ । कसैले बन्दको अवज्ञा गरे वा कालोबजारी गरेको पाइए कानुन बमोजिम कारबाही गरिने निर्णय भएको छ ।