कोविड कहर: उदयपुरमा भोलिदेखि यातायात बन्द

२0७८ बैशाख १८ शनिबार
कोविड कहर: उदयपुरमा भोलिदेखि यातायात बन्द

उदयपुर, बैशाख १८


कोविड संक्रमितहरु एक्कासी बढेपछि उदयपुर प्रशासनले ठूला साना सवारी सञ्चालनमा आईतबारदेखि निश्चित समयका लागि रोक्ने भएको छ । शनिबार बसेको जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले कोविड संक्रमण बढ्न नदिन आउँदो २५ गतेससम्मलाई सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । 


सातादिनभित्र संक्रमितको संख्या ह्वात्तै बढेपछि थप संक्रमण हुन नदिन केहीदिनका लागि यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको डिसिसीएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए । डिसिसिएसीले सदरमुकाम गाईघाट, कटारी, बेलार, रामपुर र मुर्कुचीजस्ता बढी भिडभाड र चलखेल हुने बजार र व्यापारिक केन्द्रहरुमा यातायात सञ्चालनमा रोक लगाएको हो । 


डिसिसिएमसीको निर्णय अनुसरा मदन भण्डारी लोकमार्ग पनि ठप्प हुने भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको बिकल्पको रुपमा चल्दै आउको मदन भण्डारी लोकमार्ग सुनसरीको धरानदेखि बेलका नगरपालिका ८ चतारा–रामपुर हुँदै चौदण्डीगढी नगरको बसाहा–बेलटार–सदरमुकाम गाईघाटबाट उदयपुरगढीको नेपालटार छोएको सो लोकमार्गले कटारी नगरापलिकाको रिस्कु–कटारी बजार हुँदै सिन्धुली–हेटौंडा जोडेको छ । 


यो निर्णयसँगै आईतबारदेखि यात्रुबाहक बस र मालबाहक ट्रकदेखि ट्याक्टर, जीप, कार, भेन र अटो रिक्सासम्म चल्न पाउने छैनन् । डिसिसिएमसीको निर्णय अनुसार मोटरसाईकलमा एकजना मात्र चढ्न पाउने छन् । एम्बुलेन्स, प्रेस र आपतविपतमा सुरक्षा मापदण्ड पुरा गर्दै उच्च  सतर्कताका साथ आउजाउ गर्न भने रोक नलगाइने सिडिओ सेँढाईले बताए ।