सांसद र प्रशासन कर्मचारीलाई संक्रमण, पार्लर र सैलुन बन्द

२0७८ बैशाख १७ शुक्रबार
सांसद र प्रशासन कर्मचारीलाई संक्रमण, पार्लर र सैलुन बन्द

उदयपुर, वैशाख १७

उदयपुरमा पछिल्लो समय कोविड संक्रमण तिब्र देखिएको छ । शुक्रबार प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सांसद सुरेशकुमार राई (हिमाल) र जिल्ला प्रशासनका कर्मचारीसहित ९ जनामा संक्रमण पुष्टि भएसँगै उदयपुरलाई कोविडको दोस्रो लहरले गाँजेको अनुमान गरिएको छ । 


साता दिनअघिसम्म कटारीमा २ महिलासहित ४ र त्रियुगामा १ पुरुषमा मात्र संक्रमण रहेकोमा शुक्रबारसम्ममा २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य प्रमुख मोहन सुबेदीका अनुसार सुरक्षा सतर्कतामा कडाई नहुनु तथा बाहिरका मान्छे खुलेआम जिल्ला भित्रिनुले संक्रमण बढ्दो क्रममा पुगेको हो । 


शुक्रबारको तथ्यांक अनुसार त्रियुगामा ४ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको छ भने कटारीमा ४, बेलकामा १ पुरुष, चौदण्डीगढीमा १ महिलासहित ३ र रौतामाई गाउँपालिकामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसबाहेक एक महिलाको २ साताअघि नै मृत्यु भईसकेको छ भने २ पुरुष निको भएर घर फर्किसकेका छन् । 


संक्रमितहरुमध्ये ४ जनाको उदयपर कोविड अस्पताल बेलटारमा उपचार भईरहेको छ भने बाँकी सबै होम आईसोलेसनमा बसेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश लुईटेलले बताए । सांसद राई र प्रशासनका कर्मचारी पनि आवासमै आईसोलेसनमा बसेका छन् । 


संक्रमणबाट बँच्न प्रशासनले सुरक्षा सतर्कतामा कडाई गर्नुका साथै शनिबारदेखि व्युटीपार्लर र सैलुन बन्द गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले बढ्दो कोविड संक्रमण रोक्न अर्को व्यवस्था नभएसम्मका लागि व्युटीपार्लर र सैलुन बन्द गर्न निर्णय गरिएको जनाएको छ । 


उता संक्रमित पत्ता लगाउन स्वास्थ्य कार्यालयले स्थानीयतहहरुलाई पिसिआर र एन्टीजेन किट खरिद गर्न आग्रह गरेको छ । जस अनुसार त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी गाउँपालिकाले एन्टीजेन किट खरिद गरेका छन् । त्रियुगा र चौदण्डीगढीले ५-५ सय थान र बेलकाले ३ सय तथा उदयपुगढी गाउँपालिकाले १ सय किट खरिद गरेको जनाएका छन् । 


पिसिआर र एन्टीजेन दुवै प्रविधि संक्रमण पत्ता लगाउने समान विश्वस्नीय भएको स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए । उनका अनुसार पिसिआर केही सस्तो तर, नतिजा देख्न समय लाग्ने विधि हो भने एन्टीजेन महँगो तर, छिटो नतिजा पत्ता लाग्ने विधि हो । 


५ सय रुपैंया हाराहारी मूल्यको पिसिआर विधिमा नाक र मुखबाट स्वाव संकलन गरेर २४ घण्टादेखि सातादिनभित्र नतिजा पत्ता लाग्छ भने १ हजार हाराहारी मूल्य पर्ने  एन्टीजेन परीक्षणका लागि नाकबाट स्वाव निकालेर १५ मिनटभित्रै नतिजा पत्ता लगाउन सकिन्छ । खरिद गरिएका किट आउँदो आईतबारभित्र आईसक्ने बताइएको छ । 

 

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले पिसिआरभन्दा एन्टीजेट प्रभावकारी भन्ने बुझेर कटि खरिद गरिएको बताए । उनले नगरपालिकाले ५ सय थान किट खरिद गरेको र आईतबारभित्र आईपुग्ने भएकाले शंकास्पद संक्रमितलाई परीक्षण कार्य तत्कालै सुरु गर्ने योजना रहेको बताए ।