१५ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

२0७८ बैशाख १६ बिहीबार
१५ वर्षीय  बालकको पोखरीमा डुबेर मृत्यु

उदयपुर, वैशाख १६


उदयपुरको बगाहामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । बुधबार मध्याह्न नुहाउन जान्छु भन्दै घरबाट निस्केका त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिबेक ढकाल साँझ पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । 


बगाहाको नवदिप टोलस्थ्ति मामाघरमा बस्दै आएका ढकाल पोखरीमा पौडी खेल्न जान्छु भन्दै घरबाट निस्के पनि साँझसम्म नफर्केपछि खोज्ने क्रममा पोखरी छेउमा लुगा कपडा र चप्पल भेटिएपछि उनकी माईजु टीका बिक र स्थानीयले प्रहरीलाई खवर गरेका थिए । खवर अनुुसार जिल्ला प्रहरीका डिएसपी कमाण्डमा खटेको टोलीले उनलाई पोखरीबाट मृत अवस्थामा फेला पारेको हो । 

 

साँझ ७ः०० बजे पोखरीभित्र मृत भेटिएका ढकालको शव घट्नास्थलको सर्जमिन मुचुल्कापछि पोष्टमार्टमा लागि जिल्ला अस्पतालमा पठाइएको छ । घट्नाबारे बिस्तृत अनुसन्धान कार्य सुरु गरिएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् । 


गर्मी बढेसँगै नुहाउने र पौडी खेल्ने क्रममा मान्छेको डुबेर मृत्यु हुने क्रम बढेको छ । उदयपुरमा सातादिन नबित्दै दुई बालकको डुबेर मृत्यु भएको छ । गत आईतबार मात्र पौडी खेल्ने क्रममा कटारी नगरपालिका ७ रतनपुरस्थित तावा खोलामा डुबेर ४ वर्षीय रितेशकुमार मगरको डुबेर मृत्यु भएको थियो ।