‘तपाँईको मास्क खोई ?’

२0७८ बैशाख १६ बिहीबार
‘तपाँईको मास्क खोई ?’

उदयपुर, वैशाख १६


कोरोना भाईरसको दोस्रो लहर (कोविड–२)बाट बँच्न र बचाउन मास्क अनिवार्य लगाउनुपर्ने भएको छ । सुरक्षा सतर्कता अपनाउने पहिलो माध्याम मास्क नलगाए कारबाहीको भागीदार हुनुपर्ने प्रहरीले जनाएको छ । 


बढ्दो संक्रमणबाट बँच्न मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले ‘तपाँईको मास्क खोई ?’ अभियान चलाउँदै प्रयोग नगर्नेमाथि कारबाही थालेको छ । गत सोमबारदेखि मास्क लगाउन अनुरोध गर्दै निशुल्क बितरणसमेत गरेको थियो । तर, अर्को दिनदेखि मास्क नलगाएको भेटिएपछि प्रहरीले कारबाही थालेको छ ।     


संक्रमण रोकथाम तथा नियन्त्तणका लागि मातहतका सबै युनिटमार्फत जिल्लाभरी प्रहरीले अनिवार्य मास्क लगाउन सचेतना अभियान चलाएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार सचेतना अभियान सोमबार र मंगलबार सञ्चालन गरेर बुधबार अनुगमन गर्दा मास्क नलगाएकालाई कारबाही सुरु गरिएको छ । 


सुरुमा मास्कको महत्वबारे जनचेतना जगाउँदै सदरमुकाम गाईघाट, कटारी, बेलटार, रामपुर, मुर्कुचीलगायत जिल्लाका बिभिन्न बजारमा मास्क लगाउनुपर्ने कारण र यसको महत्वबारे जानकारी गराउँदै निशुल्क मास्क बितरण गरेकोमा पछिल्लो अनगुमनमा मास्क नलगाएको पाइएपछि कारबाही गरिएको दाहालले बताए ।


जस अनुसार बुधबार गाईघाटमा मास्क नलगाउने २६ जनालाई पक्राउ गरी जनही १ सय रुपैंयाका दरले जरिवाना तिराइएको छ । उनीहरुलाई ‘संक्रामक रोग ऐन २०२०’ बमोजिम जरिवाना गराई कोविडबाट बँच्न सुरक्षा सतर्कता अपनाउने विषयमा प्रशिक्षण दिएर छाडिएको छ । 


जरिवानावापत संकलित २ हजार ६ सय रुपैंया नेपाल सरकारको राजश्व खातामा जम्मा गरिएको एसपी दाहालले बताए । मास्क नलगाउनेको फोटो खिचेर, नाम ठेगाना टिपेर राख्ने गरिएको र पुनः नलगाएको फेला परे थप जरिवाना र ३ महिनासम्म कैद सजाय गर्ने ऐनले व्यवस्था गरेको छ ।