मुर्कुचीमा ३ गाउँपालिकास्तरीय जनगणना गोष्ठी

२0७८ बैशाख ११ शनिबार
मुर्कुचीमा ३ गाउँपालिकास्तरीय जनगणना गोष्ठी

मुर्कुची, वैशाख ११


आउँदो जेठदेखि सुरु हुन लागेको ‘राष्ट्रिय जनगणना २०७८’को तयारीस्वरुप उदयपुरका ३ स्थानीयतहको संयुक्त जनगणनासम्बन्धी सचेतना गोष्ठी मुर्कुचीमा सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय उदयपुरको आयोजनामा शनिबार रौतामाई गाउँपालिका ७ को मुर्कुची बजारमा जनगणना सचेतना गोष्ठी समपनन् भएको हो । 


रौतामाई, लिमचुङबुङ र उदयपुरगढी गाउँपालिकालाई लक्षित गरी मुर्कुचीमा पालिकास्तरीय जनगणना सचेतना गोष्ठी आयोजना गरिएको जिल्ला जनगणना कार्यालय प्रमुख शिवनारायण महतोले बताए । महतोका अनुसार कार्यक्रममा ३ वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता थियो । महतोका अनुसार जनगणनाको तयारीस्वरुप स्थानीयतहस्तरमा सचेतना गोष्ठी आयोजना गर्ने क्रम अन्तिम चरणमा पुगिसकेको छ । 


गोष्ठीमा राष्ट्रिय जनगणना २०७८ को अवधारणा, जनगणनाको महत्व र उदेश्यबारे जानकारी गराइएको मुर्कुचीका स्थानीय जनगणना अधिकारी रामबहादुर राईले बताए । उनका अनुसार जनगणनालाई सफल बनाउन आवश्यक तयारी गर्ने, सचेतना गराउने, प्रचारप्रसार गर्ने तथा विगतको अनुभव र आगामी दिनमा सहजरुपमा काम गर्ने विषयमा छलफल भएको थियो । 

 

जनगणनामा कोही नछुट्न र कोही दोहोरिन नदिनका लागि सरकारले ‘कोही नछुटौं, कोही नदोहारियौं’ भन्ने नारा तय गरेर स्थलगत तथ्यांक संकलन गर्ने कार्यक्रम तय गरेको छ । जस अनुसार जनगणनामा जनसंख्या, शैक्षिक, स्वास्थ्य, आर्थिक, सामाजिक, राजनीतिकलगायत सबैपक्षको तथ्यांक संकलन गरिने भएको छ । त्यसका लागि सचेतना गोष्ठीको महत्व धेरै रहेको आयोजकको भनाई छ । 


'मेरो गणना, मेरो सहभागिता' भन्ने नाराका साथ जिल्ला जनगणना कार्यालय गाईघाटको समन्वयमा भएको कार्यक्रममा जनप्रतिनिधिबाहेक स्थानीय उद्योग बाणिज्यकर्मी, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, अधिकारकर्मी, सुरक्षाकर्मी र कर्मचारीको सहभागिता थियो ।