भागलपुरमा आगलागीबाट राईको घर र नेपालीको गोठ स्वाहा

२0७८ बैशाख ११ शनिबार
भागलपुरमा आगलागीबाट राईको घर र नेपालीको गोठ स्वाहा

उदयपुर, वैशाख ११


घरको विद्युत सर्ट भएर आगो लाग्दा शुक्रबार दिउसो उदयपुरमा एक घर र गोठ जलेर नष्ट भएको छ । बेलका नगरपालिका २ भागलपुर शिवालयटोलमा दउसो ३ः३० बजे एक्क्कासी भएको आगलागीमा परी स्थानीय चक्रबहादुर राईको घर र छिमेकी तेजबहादुर नेपालीको गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 


राईको घरमा विद्युत सर्ट भएर लागेको आगोले जस्ताको छानो भएको २ तले काठको घर जल्दा घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र महत्वपूर्ण सम्पूर्ण कागजात जलेर नष्ट भएको प्रहरी चौकी भागलपुरले जनाएको छ । आगलागीबाट राईको मात्र कम्तीमा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


आगोले राईकै घरछेउमा रहेको छिमेकी नेपालीको फुसको छानो भएको गोठ जलेर नष्ट भएको छ । गोठ जल्दा नेपालीको १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी चौकीले जनाएको छ । आगो लागेको भन्ने जानकारी आएलगत्तै भागलपुर प्रहरी चौकीबाट खटेको सहायक प्रहरी निरीक्षक कमाण्डको टोली र इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक कमाण्डमा खटेको संयुक्त टोलीले आगो निभाएको थियो । 


घट्नास्थल पुगेका प्रहरी र सशस्त्र प्रहरीले स्थानीयसँग मिलेर आगो साँझ ६ः०० बजेसमममा पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरी र सशस्त्र तथा स्थानीयले नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


आगोले घर र धनसम्पत्ति जले पनि मानवीय तथा चौपाया क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।