२४ घण्टादेखि सिद्धिचरण लोकमार्ग ठप्पः खुल्ने संकेत छैन

२0७८ बैशाख ७ मंगलवार
२४ घण्टादेखि सिद्धिचरण लोकमार्ग ठप्पः खुल्ने संकेत छैन

कटारी, वैशाख ७

सिद्धिचरण लोकमार्गको कटारी घुर्मी खण्ड अवरोध भएको २४ घण्टा पुगिसकेको छ । तर, अवरोध हटाउने विषयमा अझै ठोस पहल हुन सकेको छैन । सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड जिर्ण सडक स्तरोन्नतिको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएपछि स्थानीय उपभोक्ताले सोमबार विहानदेखि अनिश्चितकालीन बन्द गराएका हुन् । 


कालोपत्रेसमेतको स्तरोन्नति गर्नुपर्ने माग गर्दै कटारी नगरपालिका ८, ९, १०, ११, १२, १३ र १४ नं. वडाबासीले सडक अनिश्चितकालीन अवरुद्ध गरेका हुन् । सातादिनअघि स्तरोन्नति संघर्ष समितिले डिभिजन सडक कार्यालयमा ज्ञापनपत्र बुझाउँदै एकहपताभित्र माग पुरा गर्न चेतावनी दिएको थियो । 


तर, आफ्नो मागप्रति सरकारले बेवास्ता गरेको भन्दै संघर्ष समितिले सोमबारदेखि अवरुद्ध गरेको सढक खोल्ने विषयमा कुनै ठोस पहल नभएको समितिका संयोजक तथा कटारी ११ नं. का वडाध्यक्ष दीपक बुढाक्षेत्रीले बताए । कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर खण्ड अहिले पूर्णतः ठप्प भएको छ । 


बुढाक्षेत्रीका अनुसार उपभोक्ताको बन्दपछि सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा सीमास्थल घुर्मीसम्मको सडकमा यातायात ठप्प भएको छ । भने सयौं गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् । 


कटारी ८ देखि १४ सम्मका ७ वटा वडाबासीले सडक स्तरोन्नतिको माग गर्दै संघर्ष समिति गठन गरेका थिए । समितिले अन्तिम पटक चेतावनी दिदै गत चैत ३१ गते डिभिजन कार्यालय लाहानमा बुझाएको ज्ञापनपत्रको अवधि सकिएपछि सडक अवरुद्ध गरिएको बुढाक्षेत्रीले बताए । 


क्षेत्रीका अनुसार कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर सडक खण्ड अत्यन्त जिर्ण भएकाले बारम्बार सवारी दुर्घटना हुदै आएको छ । सो खण्डको मर्मतसम्भार नगर्दा यात्रु, यातायात व्यवसायी र स्थानीयले वर्षौंदेखि समस्या भोग्दै आउनुपरेको उनी बताउँछन् । सडक स्तरोन्नतिको माग गर्दै पटकपटक डिभिजन कार्यालय, नगरपालिका, प्रदेश सरकार, विभाग र प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदै आए पनि चासो नदिएको गुनासो समितिको छ ।  


मिर्चयादेखि कटारीका १४ वडामध्ये ५, ६ र ७ नं। बाहेक सबै वडालाई सडकले छोएको छ । यत्ति धेरै उपभोक्ता रहेको सडकको स्तरोन्नति दीगो र व्यवस्थित हुनुपर्नेतर्फ सरकारले कहिल्यै जिम्मेबारी बोध नगरेपछि बाध्य भएर यातायात आवागमन रोक्नुपरेको वडाध्यक्ष क्षेत्रीको भनाई छ। 


‘सडक स्तरोन्नतिको तत्काल काम सुरु नभए अनिश्चितकालीन सडक अवरुद्ध गर्ने भनेर ज्ञापनपत्र दिदै भनेका थियौं’ संयोजक क्षेत्रीले भने ‘तर, सातादिनसम्म कुर्दासम्म माग पुरा गर्ने कुनै छाँटकाँट देखिएन, तयसैले सडक अवरोध गर्न बाध्य भएका हौं ।’ यो कदम आफैलाई पनि अप्रिय लागेको तर, सरकारको ध्यान खिच्ने अर्को कुनै बिकल्प नभएको उनले बताए । 


समितिको सडक बन्दका कारण कटारीदेखि पहाडीभेगका मरुवा, पट्नाभञ्याङ गहुँबारी, बेतेनी, ठाँटी भन्ज्याङ हुँदै घुर्मी खण्डमा गाडी ठप्प भएको छ । सिराहाको मिर्चयादेखि सो रुट भएर ओखलढुंगा, सोलुखुम्बु र खोटाङ चल्ने सबै यातायात जाममा परेका छन् । विहान केहीवेर टिपर र ट्रक तथा साना सवारीसाधन चलाउन कोसिस गरे पनि दिउसोदेखि ठप्प हुन पुगेको स्थनीयले बताए । 

इलाका प्रहरी कार्यालय कटारीले बन्दले ठूला र मालबाहक गाडीहरु पूर्णतःअवरुद्ध भएको जनाएको छ । इप्रका प्रमुख डिएसपी हेमन्त भण्डारीले मोटरसाईकल र केही साना गाडीहरु वाईपास गरेर चले पनि बस, टिफर र ट्रकहरु ठप्प रहेको बताए । सडक खोल्ने विषयमा प्रशासन र प्रहरीले संघर्ष समितिसँग छलफल गरे पनि निश्कर्ष ननिस्केको उनको भनाई छ। प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईसहितको उपस्थितिमा छलफल भएको तर, माग पुरा नभएसम्म सडक सुचार हुन नदिने संघर्ष समितिको अडान रहेको उनले बताए । 

सडक सुचार गराउन नगरपालिका, प्रशासन र प्रहरीले दुईपक्षीय छलफल अघि बढाएको तर, संघर्ष समितिले स्तरोन्नतिको कामको टुंगो नलगाएसम्म सुचारु हुन नदिने अडान लिएको बताइएको छ । कमसेकम भौतिक मन्त्रालयबाट स्तरोन्नतिका लागि बजेट छुट्याउनुसम्म पर्ने बटम लाईन समितिले रोखेको भण्डारीले बताए । 

संघर्ष समितिले आर्थिकवर्ष २०७८र०७९ को बजेटमा लोकमार्ग सुरक्षित बनाउन बिकल्प दिन दुईलाईन सडक बनाउनुपर्ने माग पनि अघि सारेको छ । यो माग स्थानीयले एकदशकदेखि नै राख्दै आएका हुन् । त्यसको कार्यान्वयनका लागि मन्त्रालयले पर्याप्त बजेट बिनियोजन गर्नुपर्ने, लागत ईस्टीमेट बनाएर काम थाल्ने सुनिश्चित गर्नुपर्ने, लोकमार्गलाई स्तरोन्नति कार्य गर्नेबारे निर्णय गर्नुपर्ने माग समितिले राखेको छ । त्यसैगरी २ लाईन सडक बनाउने निश्चित नभएसम्म सडक आउजाउ गर्न सहज पार्न बाहैकाल अवरुद्ध हुन नदिन स्काभेटर, जेसिबीजस्ता उपकरण तैनाथ राख्नुपर्ने र धुलो मार्न पानी छ्याप्ने ट्यांकरको व्यवस्था गर्न पनि समितिको माग छ । 


२ वर्षयता सौर्य र कसमस सिमेन्टको चुनढुंगा कटारीकै पट्नाभन्ज्याङलगायत २ ठाउँबाट ओसार्ने सडक पनि त्यही भएकाले थप भारले बैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ । सडक मर्मतमा वर्षेनी डिभिजनले लाखौं खर्च गर्दै आए पनि ३ महिनाभित्रै बिग्रेर जस्ताको तस्तै हुने गरेको स्थानीयको भनाई छ । वर्षेनी मर्मतमा बजेट खर्च हुने भएकाले टिफर चलाउन बैकल्पिक सडक खनेर लोकमार्गमा मोटरसाईकल र यात्रुबाहक गाडी मात्र चल्ने बनाउनुपर्ने माग स्थानीयको छ ।  

मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुंगा, सोलुखुम्बु र खोटाङसम्म आउजाउ गर्न सजिलो भएको उक्त कालोपत्रेसहितको सडक नेपाली सेनाले ०५८ सालमा निर्माण गरेको हो । पुरानो प्रविधिमा बनेको उक्त सडक सैनिक जवानले कोदालो र झम्पलको भरमा खनेर निर्माण गरेकाले घुम्ती, भिरालो र साँघुलो रहेको छ । ५–६ वर्षसम्म कालोपत्रे टिकेको भए पनि सिमेन्टका लागि चुनढुंगा बोक्न टिपर चल्न थालेको ६ महिनादेखि नै कालोपत्रे उप्किएर धुलाम्य हुदै आएको छ । भत्केर जिर्ण भएकाले हिउँदमा धुलैधुलो र वर्षामा हिलैहिलो हुने सडकमा बारम्बार दुर्घटना भएर जनधनको क्षति हुँदै आएको छ ।