खगेन्द्र संग्रोला ४ लाख नगदसहित 'पहिचान पुरस्कार'द्वारा सम्मानित 

२0७८ बैशाख ४ शनिबार
खगेन्द्र संग्रोला ४ लाख नगदसहित 'पहिचान पुरस्कार'द्वारा सम्मानित 

उदयपुर, चैत ४

समालोचक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली अति प्रशंशाले प्रफुल्लित भएर भस्मासुर बन्न पुगेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा ‘पहिचान सम्मान’ ग्रहण गर्दै संग्रौलाले प्रधानमन्त्री ओलीमाथि टिप्प्णी गरे ‘मुखले भन्दाखेरि एकताकारी राष्ट्रवाद, व्यवहारमा विखण्डनकारी राष्ट्रवाद । प्रसंशाको मण्डपबाट झन्डै हिटलर, झन्डै भस्मासुर जन्मियो । त्यसको पीडा अहिले हामीले भोग्नुपरेको छ ।’


उनले अगाडि भने 'तपाई–हामी सबैलाई थाहा छ, श्रीमान् खड्गप्रसाद शर्मा ओलीलाई अहिलेको अवस्थाको अहंकारी, अराजक, असहिष्णु, सारा विधि व्यवस्थामाथि तोडफोड गर्ने पात्रका रुपमा स्थापित गर्नुमा हाम्रो पनि धेरथोर योगदान छ । तर, सबैभन्दा ठूलो भूमिका मौसमी राष्ट्रवादले खेलेको छ ।’


संग्रोलाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि आलोचना गरे । प्रचण्ड पनि अति प्रसंशाको शिकार भएको र नेपालका विराट जनयुद्धका नायक प्रचण्डले जनयुद्धमै बनाएको ‘प्रचण्डपथ’ नामक मण्डप वरिपरि भेला भएका माओवादीका सबैले उनको तारिफ गर्दा प्रचण्डले आफुलाई संसारको सबैभन्दा बुद्धिमान हुँ, दुरदर्शी र शक्तिशाली हुँ भनेर कसैलाई नगनेका नटेरेका कारण यस्तो अवस्था सिर्जना भएको बताए । 


अग्रगामी जनयुद्धका नायक प्रचण्डले कालान्तरमा जनयुद्धका अभिष्टहरु र एजेन्डाहरुलाई त्यसको सबभन्दा विरोधीको पाउमा लगेर राखिदिएको टिप्पणी उनको थियो । उनले आफुलाई पनि बढी प्रशंसा नगर्न आग्रह गर्दै भने 'तपाईहरुको प्रसंशा सुनिरहदाँ मलाई डर नै लागेको छ ।’


पहिलो संविधानसभा विघटन भएलगत्तै देशमा राजनीतिक प्रतिगमन सुरु भएको बताउँदै संग्रौलाले समाजको सीमान्त कुनाका, सम्पत्ति नभएका, जात नभएका, प्रतिष्ठा र पहुँच नभएका धेरै मानिसहरु विराट जनयुद्धबाट पहिलो संविधानसभामा आएको तर, पहिचानका मुद्दा लिएर आएका ती शक्ति र सत्ता र साधन–स्रोतले कहिल्यै नचिनेका गुमनामहरु पहिलो संविधानसभा विघटन भएसँगै प्रतिगमनको शिकार भएको बताए । 


संग्रौलाले पहिचानको मुद्दा स्थापित नभएसम्म समतामूलक समाज निर्माण हुन नसक्ने ठोकुवा पनि गरे । प्रतिगमन सुरु भएपछि सुन्दर संज्ञाहरुलाई पनि विकृत र कलंकित बनाइएको बताउँदै उनले अहिले पहिचानको कुरा गर्दा विखण्डनकारी, सामाजिक सद्भाव फैलाउने, मिलिरहेको समाजमा कलह सिर्जना गर्नेजस्ता आरोप लाग्ने गरेको बताए। समाजका शिक्षित, धनाढ्य र शक्तिमा रहेकाहरुमा नै यस्तो धारणा बनेको उनको बुझाई छ । 


पहिचानको विरोध गर्नेहरु सबभन्दा बढी जातिवादी रहेको भन्दै संग्रौलाले समाजका धेरै जातिहरु राज्यको केन्द्रबाट सीमान्तमा भएको र राज्यबाट बाहिर फालिएको बताए । लुटिएकाहरुको पहिचान जबसम्म स्थापित हुँदैन, तबसम्म नेपाली समाजको न्यायको जग, समानताको जगमा नपुग्ने ठहर गर्ने संग्रौलाले असमानता, अन्याय र विभेद व्याप्त रहेसम्म पहिचान स्थापित हुन नसक्ने बताए । पहिचानको मुद्दा जातिवाद नभई समानताको भएको भन्दै उनले पहिचानलाई जसले जातिवादी भन्छ ऊ आफैं जातिवादी भएको बताए । 


संग्रौलालाई पहिचान पुरस्कार कोषद्वारा नगद ४ लाख २ हजार २ रुपैंयासहित यस वर्षको ‘पहिचान सम्मान’ प्रदान गरिएको छ । उनलाई कोषका अध्यक्ष नरेश काङमाङ राईले नगद तथा सम्मानपत्र प्रदान गरेका थिए । कोभिडका कारण कार्यक्रममा उपस्थित हुन नसकेका प्रमुख अतिथि बैरागी काइँलाले संग्रौलालाई बधाइ सन्देश पठाएका थिए ।