लागुऔषधसहित पैदलयात्री पक्राउ

२0७८ बैशाख ४ शनिबार
लागुऔषधसहित पैदलयात्री पक्राउ

उदयपुर, वैशाख ४


उदयपुर प्रहरीले लागुऔषधसहित एक पैदलयात्रीलाई नियन्त्रणमा लिएको छ । चौदण्डीगढी नगरपालिका ४ हात्तीसारका १९ वर्षीय मौसम तामाङलाई प्रहरी गस्तीले चेकजाँच गर्दा लागुऔषध फेला परेपछि शुक्रबार साँझ पक्राउ गरेको हो । 


तामाङ शुक्रबार राति १०ः०० बजको समयमा छिमेकी जिल्ला सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर बजारबाट बेलका नगरपालिका १ आम्बासीतर्फ पैदल हिडेर आउँदै गर्दा चेकजाँचमा परेका थिए । प्रहरी चौकी भागलपुरबाट खटेको विशेष टोलीले शरिर खानतलासी लिँदा उनको साथबाट स्पामो प्रोक्सीभोन प्लस नामक ट्याब्लेट १० थान र एउटा सिरिन्ज फेला परेको छ । 


उनलाई इलाका प्रहरी कर्यालय रामपुरमा ल्याएर हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।    लागु पदार्थ नियन्त्रण अभियान अन्तर्गत प्रहरीले चारैतिर टोली परिचालन गरी निगरानी बढाउँदा भटाभट लागुऔषध दुव्र्यसनी तथा कारोबारी पक्राउ पर्दै आएको प्रहरीले जनाएको छ ।