बेलाकामा ‘खुवालुङ कृषि फाराम’

२0७८ बैशाख ३ शुक्रबार
बेलाकामा ‘खुवालुङ कृषि फाराम’

उदयपुर, वैशाख ३

केही समययता प्रदेश १ मै चर्चाको विषय भएको किराती समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र ‘खुवालुङ’ शब्द अव कृषि व्यवसायसँगसमेत जोडिन थालेको छ । जसको उदाहरण खुवालुङसँग सीमाना जोडिएको उदयपुरको बेलका नगरपालिका ४ बरगाछीमा ‘खुवालुङ एग्रिकल्चर एण्ड एग्रोभेट’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ । 


एग्रोभेटको नयाँ वर्ष ०७८ को आगमनकै दिन बुधबार उद्घाटन भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुबाट सामुहिक माछाको भुरा र बंगुरको पाठापाठी फÞार्म हाउसको आधुनिक खोर र पोखरीमा लगाएर फार्मको औपचारिक उद्घाटन गरियो । कृषि फार्ममा विशेष गरी बंगुर प्रजनन तथा माछा उत्पादन गरिने सञ्चालकमध्येका एक ठहरमान राईले बताए । उनका अनुसार सामुहिक लगानीमा सुरु भएको फार्म २ बिगाह क्षेत्रफल जमिनमा सञ्चालनमा ल्याइएको छ । 


फार्म उद्घाटन गर्दै बेलका ४ का वडाअध्यक्ष दिपक दंगालले पछिल्लो समय बेलकाका युवाहरु कृषि पेशातर्फ आकर्षित हुन थालेकाले नगरको कृषि योजनासमेत सफल बन्दै गएको बताए । अध्यक्ष दंगालले वडा कार्यालयबाट आगामी वर्ष १ थान बिउ बंगुर फार्मलाई उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । 


नेपाली काँग्रेसनिकट जनजाति संघका महामन्त्री प्रशान्त चाम्लिङले वास्तविक किसान राज्यको कृषि नीतिमा अझै पनि लागी पर्न नसकेको बताए । उनले वास्तविक किसानलेभन्दा कागजमा सीमित झोले कृषकहरुले राज्यको सुविधा लुटिरहेको बताए । त्यस्ता फर्जी किसानलाई दिइने सुविधाको साटो वास्तविक किसानको पहिचान गरेर राज्यले सेवा सुविधा दिन सके देशमा वास्तविक किसानले मुलुकलाई समृद्ध बनाउन धेरै समय नलाग्ने महामन्त्री राईले बताए । 


कार्यक्रममा नेकपा (एमाले) नगर कमिटी अध्यक्ष गणेश बस्नेतले कृषिक्षेत्रको उत्पादकत्व बढाउन लागी परेका उद्यमी युवाहरुलाई नगरपालिकाले सदैब सबैखाले सहयोग गर्दै आएको बताए । नगरपालिकाका आर्थिक सल्लाहकारसमेत रहेका बस्नेतले  भावी दिनहरुमा अझ बढी ध्यान पुर्याउने बताउँदै बेलकामा युवा राजनीतिकर्मीहरु धमाधम कृषि पेशामा जोडिनुले बेलका नगरको आर्थिक सम्बृद्धिमा कृषिक्षेत्रको महत्व झन् बढ्न थालेको बस्नेतले बताए ।


नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य राकेश किरातीले कृषि व्यवसाय सबभन्दा उत्तम पेशा भएको बताउँदै यो फार्म बेलका नगरको मात्र नभई प्रदेशकै नमुना बन्नुपर्ने बताए । उनले व्यवसायिक कृषिमा लागिरहेमा करोडपति बन्न समय नलाग्ने भएकाले निरन्तर लागिरहन उद्यमी राईलाई आग्रह गरे । 


कार्यक्रममा जनता समाजवादी पार्टी बेलका नगर अध्यक्ष सुरेन्द्र खालिङ राईले युवा पुस्ता कृषिक्षेत्रमा प्रवेश गर्नुले देशको आर्थिक सम्वृद्धिलाईसमेत टेवा पुग्ने अपेक्षा गरे । युवाहरु कृषिक्षेत्रमा लागेर स्वरोजगार बन्नुपर्ने धारणा राख्दै उनले वैदेशिक रोजगारीभन्दा स्वदेशमै कृषि व्यवसायमा लागेर आयआर्जन गर्न युवाहरुलाई सुझाए । 


नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर उपाध्यक्ष खड्ग पाख्रिनले फार्मको सफलताको शुभकामना मन्तव्य राख्दै सबै युवा पुस्ता कृषि व्यवसायमा लाग्न सके समृद्धि टाढा नभएको बताए । फार्म संचालक ललित राईले कृषि प्रधान देशमा कृषकहरु नै भोकभोकै बस्नुपर्ने  परिस्थिति निरुत्साहित गर्न कृषिलाई आधुनिकीकरणतर्फ लैजानुपर्नेमा जोड दिए । उनले कृषिमा आयातमुखी र निर्वाहमुखी अवस्थाको अन्त्य गर्दै व्यवसायिक भएर निर्यातमुखी बन्न युवापुस्ता कृषिक्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । त्यसका लािग समुहगत रुपमा कृषि कर्मको थालनी गरेको बताउँदै राईले केहीवर्षभित्रै परिणाम देखाउने योजना रहेको सुनाए । 


करिब २ बिगाहा क्षेक्रफल जमिनमा २३ लाख रुपैया बराबरको लगानी भईसकेको सो फार्ममा माछा, बंगुरका पाठापाठी उत्पादन तथा कुखुरा पालन व्यवसायलाई पहिलो प्राथमिक्तामा राखिएको राईले बताए । फार्ममा बाख्रा, राँगालगायत अन्य पशुपालनका योजना पनि बिस्तारै थप्दै जाने उनले बताए । कार्यक्रममा युवा नेता कपिलप्रसाद अधिकारी, भोजराज राई (आकास), पत्रकारद्वय भरत घिमिरे, सुमनसागर खतिवडालगायतको पनि उपस्थिति थियो ।