खोटाङका एक युवकको डुबेर निधन

२0७८ बैशाख २ बिहीबार
खोटाङका एक युवकको डुबेर निधन

उदयपुर, वैशाख २


खोटाङका एक युवकको नदीमा डुबेर निधन भएको छ । सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर बराहपोखरी गाउँपालिका–३ साउनेचौंर सिन्ताङका १७ वर्षीय मोहनचन्द्र राउतको बिहीबार दिउसो निधन भएको प्रहरीले जनाएको छ । 


दुई साथीसँग पौडी खेल्न गएका राउतको शव पानीभित्र ढुंगाको चेपमा अड्किएको अवस्थामा फेला परेको वडाध्यक्ष शम्भु निरौलाले बताए। उनका अनुसार पौडी खेल्न नजान्ने उनी सुरुमा केहीबेर अन्य साथीहरु पौडी खेलेको तस्बिर खिचिरहेका थिए। उनले दुई साथी पौडी खेलेको तस्विर फेसबुकमा अपलोडसमेत गरिसकेका थिए । 


दुई साथीहरु पौडी खेल्दै भंगालो तरेर नदी बीचको टापुमा पुगेको देखेर राउत पनि नदीमा पसेका थिए । पौडी खेल्न नजानेका कारण उनी नदीमा डुबेर ढुंगामा च्यापिन पुगेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष निरौलालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 


नदी पस्नेवित्तिकै डुबेका राउतलाई निकाल्न दुई साथी पौडेर आउँदा–आउँदै उनी पानीमा बेपत्ता भएका उनको शव डुबेको ठाउँभन्दा केही तल भेटिएको प्रहरीले जनाएको छ । घट्नाको विषयमा  अनुसन्धान सुरु गरिएको खोटाङ प्रहरीले जनाएको छ।