३
२0७८ बैशाख १ बुधबारउदयपुर, वैशाख १
यसपालिको नयाँ वर्ष ०७८ लाई उदयपुरबासीले धुमधामसँग स्वागत गरेका छन् । गतवर्ष कोविडका कारण नयाँ वर्ष मनाउन नपाएका जिल्लाबासीले यसपालि व्यक्तिगत र सामुहिक बिभिन्न कार्यक्रमको आयोजना गर्दै मनाएका हुन् ।
नयाँ वर्षलाई कसैले घरभित्रै बसेर मनाए भने कोही पर्यटकीयक्षेत्र गए त कोसी मन्दिर, होटल तथा रिसोर्ट पुगे । गाईघाटमा बढ्दो गर्मी छल्ने निहु गर्दै धेरैजसो युवायुवति चिसो ठाउँको खोजीमा घरबाहिर निस्केर नयाँ वर्ष मनाएका छन् । कतिपय जिल्लाबाहिर गएर मनाए भने कसैले कोसीको चिसो पानीमा माछा मार्दै, पौडी खेल्दै नयाँ वर्षलाई स्वागत गरे ।
उदयपुरका पत्रकारहरुको एउटा टोली छिमेकी जिल्ला खोटाङको बाराहापोखरी पुगेर नयाँ वर्ष मनाएको छ । बाराहापोखरी २ स्थित हर्रेचुङस्थित निर्माणाधीन अवस्थामा रहेको ‘जंगल रिसोर्ट तथा एकीकृत अग्र्यानिक कृषि फारम’ पुगेको पत्रकारको टोलीले स्थानीयसँगको जमघटमा नयाँ वर्ष मनाएको छ । युवा उद्यमी मुकेश राईले १ करोड लगानीमा होटल तथा रिसोर्टसहितको फाराम सञ्चालन गर्न पूर्वाधार निर्माण भईरहेको ठाउँमा पत्रकारले ०७७ लाई विदाइ गर्दै नयाँ वर्ष ०७८ लाई स्वागत गरेको टोली सदस्य गजेन्द्र राईले बताए ।
जापानमा एकदशक वैदेसिक रोजगारी गरेर फर्केका राईले विदेशको कमाई र अनुभवले आप्mनै ठाउँमा अग्र्यानिक रिसोर्ट र कृषि उद्यम सञ्चालन गर्न कालिज, लुईचे, लोकल कुखुरा, मृग र बँदेलसहितको एकीकृत कृषि फाराम चलाउने योजना अघि सारेको बताए । वैदेशिक रोजगारीमा जानुपरेकाले जोतभोग नभएर जंगलमा परिणत भएको ९ रोपनी व्यक्तिगत (नम्बरी) जग्गामा फाराम सञ्चालन गर्न कानुनी प्रक्रिया अघि बढाउँदै भौतिक संरचना र पूर्वाधार निर्माण कार्य धमाधम भईरहेको राईले बताए ।
यता विगत वर्षमाजस्तै यो साल पनि नयाँ वर्ष मनाउने गन्तव्यको रुपमा जिल्लाको पर्यटकीय तथा धार्मिस्थल रौतापोखरी धेरैको रोजाईमा परेको छ । विगत १० वर्षदेखि नै नयाँ वर्षमा ३ दिन मेला लाग्ने गरेको थियो । गतवर्ष भने लकडाउनले मेला लगाउन प्रशासनले रोक लगाएको थियो । यसवर्ष रौतामा घुईचोका साथ नयाँ वर्ष मेला लागेको स्थानीय बलराम राईले बताए ।
रौतासँगै ताप्ली पोखरी, उदयपुरगढी, निर्माणाधीन लिमचुङबुङ भ्युटावरस्थल, कोसी किनार धाब्लाङ, कटारीस्थित सिमसार पोखरी, बेतिनी, माझखर्कलगायत बिभिन्न स्थानमा जमघट र वनभोजसहित नयाँ वर्ष मनाइएको छ ।