ब्राउनसुगर र बन्दोबस्तीका सामग्रीसहित एक पक्राउ

२0७७ चैत्र २९ आईतवार
ब्राउनसुगर र बन्दोबस्तीका सामग्रीसहित एक पक्राउ

उदयपुर, चैत २९


उदयपुर गाईघाटबाट एक युवा लागुऔषध खैरो हिरोईन (ब्राउनसुगर)सहित आईतबार पक्राउ परेका छन् । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर २ सय ग्राम १० मिलीग्राम र अन्य बिभिन्न बन्दोबस्तीका सामग्रीहरुसहित त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्की पक्राउ परेको प्रहरीले जनाएको छ । 


ब्राउनसुगर किनबेच भईरहेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले कार्कीलाई प्रमाणसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले कार्कीको साथबाट ब्राउनसुगर तौलने डिजिटल मेसिन १ थान, नोक १ थान, सिम काट्ने मेसिन १ थान, बिभिन्न कम्पनीका मोवाईल १० थान र मेमोरी कार्ड १ थान बरामद गरेको छ । 


त्यस्तै नेपाल टेलिकमको एनटिसी ४, एनसेल ३, स्मार्ट र एयरटेल सिम १–१ गरी ९ थान सिम कार्ड पनि फेला परेको छ । त्यस्तै चप्लेट १, ब्लेड १, ब्राउनसुगर खाँदा डढेको नेपाली ५ रुपैँयाका नोट २ थान पनि उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार कार्की ०७७ माघ १६ गते ब्राउनसुगर बिक्री बितरण मुद्धाको फरार अभियुक्तसमेत रहेको खुलेको छ । पक्राउपछि उनलाई जिल्ला प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको एसपी दाहालले बताए । 


उदयपुर प्रहरीले ‘जिल्लामा लागुऔषध नियन्त्रण गर्ने अभियान’ सञ्चालनमा ल्याएपछि दिनहुँजसो लागुऔषध कारोबार अभियोगमा पक्राउ पर्दै आएका छन् । जिल्लाका सबै प्रहरी युनिटलाई परिचालन गरेर लागुऔषध नियन्त्रण अभियान चलाउँदा दैनिक अपराध गर्नेहरु पक्राउ पर्दै आएको उनी बताउँछन् ।