एमाले उदयपुरमा पार्टीदेखि जनवर्गीय संगठनसम्म समानान्तर कमिटी 

२0७७ चैत्र २७ शुक्रबार
एमाले  उदयपुरमा पार्टीदेखि जनवर्गीय संगठनसम्म समानान्तर कमिटी 

उदयपुर, चैत २७

 

अदालतले पुनर्जिवित गरिदिएको नेकपा (एमाले)को कारबाहीमा परेको माधव नेपाल झलनाथ खनाल समूहले उदयपुरमा पार्टीको समानान्तर कमिटी गठन गरेको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शार्मा ओलीले वरिष्ट नेता नेपालसहित उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई साधारण सदस्यसमेतबाट ६ महिनासम्म निलम्बनको कारबाही गरेपछि यो समूहले देशव्यापी समानान्तर कमिटी गठनको क्रममा कमिटी गठन गरेको हो । 


पार्टी अधिवेशनबाट निर्वाचित अध्यक्ष इश्वरमणि राउतकै अध्यक्षतामा भर्खरै २०५ सदस्यीय समानान्तर कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा कैलाश बस्नेत, सचिव जयराम पंजियार थारु, उपसचिव गीता खड्का छानिएको पार्टीले जनाएको छ । नवगठित कमिटीलाई एमाले पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले सपथ खुवाएका छन् । 


सपथ लिईसकेको जिल्ला नेतृत्वले आगामी ३ महिनाभित्र जिल्लाका ४ नगरपािलका र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतह र ७५ वटै वडामा समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको जनाएको छ । कतिपय स्थानीयतह र वडा कमिटीहरु आफ्नै समूहका रहेकाले त्यसैलाई कायम राखिने छ भने ओली समूहले खोसेका केही ठाउँमा नयाँ कमिटी गठन गर्ने अध्यक्ष राउतले बताए । 


आफुहरुमाथि कारबाहीपछि उत्कर्षमा पुगेको आन्तरिक संघघर्षस्वरुप सबै जिल्लामा समानान्तर कमिटी निर्माण गरेर अघि बढ्ने निर्णय भए अनुार यो क्रमलाई तिब्रता दिइएको जनाइएको छ । जिल्ला पार्टीदेखि बिभिन्न जनबर्गीय संगठनको पनि  समानान्तर कमिटी गठन गरिरहेको जनाएको छ । 


जस अनुसार युवा संघ, अनेरास्ववियु, अनेमसंघ, मजदुर संगठन, जनसांस्कृतिक महासंघ, किसान महासंघ र जनसम्पर्कका समानान्तर कमिटीहरु पनि तल्लो तहसम्म गठन गर्ने योजना रहेको पार्टीले जनाएको छ । उदयपुरमा जिल्ला अध्यक्ष राउत र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी यही समूहमा रहेका छन् ।