चट्याङमा परी ३ जना घाईते 

२0७७ चैत्र २७ शुक्रबार
चट्याङमा परी ३ जना घाईते 

उदयपुर, चैत्र २७ 


वर्षायाम सुरु भएसँगै चट्याङको दैवीप्रकोपको खतरा बढेको छ । प्रदेश प्रहरी कार्यालय विराटनरका अनुसार यसैबीच बिहीबार बेलुकाको चट्याङले प्रदेश १ का बिभिन्न जिल्लामा ३ जना घाईते भएका छन् । वर्षासँगै परेको चट्याङले संखुवासभाको मकालु गाउँपालिका ५ स्थ्ति नुमबजारका २३ वर्षीय लिलाबहादुर दर्जी घाईते भएका छन् । 


आफ्नै घरमा बसिरहेका उनी चट्याङमा परी घाईते भएपछि हाल प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको छ । त्यस्तै सुनसरीको भोक्राहा नरसिंह उल्टीका १७ वर्षीया सलिना खातुन पनि आफ्नै घरमा परेको चट्याङले घाईते भएकी छिन् । उनको उपचार जिल्ला अस्पताल ईनरुवामा  भईरहेको छ । 


यता ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ की १५ वर्षीया  रश्मिता मगर पनि आफ्नै घरभित्र चट्याङ पर्दा घाईते भएकी छिन् । उनको उपचार मिशन अस्पताल ओखलढुंगामा भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


प्राकृतिक प्रकोपको रुपमा लिइने चट्याङबाट बँँच्न पूर्व तयारीबाहेक अन्य केही गर्न नसकिने मौसमविदहरुको सुझाव छ । गड्याङगुडुङसहित वर्षा भएका बेला चट्याङ पर्ने प्रवल संभावना हुने उनीहरुको भनाई छ । मेघ गर्जनसहित पानी परिईरहेका बेला रुखको छहारीमुनि नबस्न, मोवाईल तथा टेलिभिजन, कम्प्युटर र ल्यापटप नचलाउन र फलामे धातुजन्य सामानभन्दा टाढा रहदा चट्याङबाट केहीहदसम्म बँच्न सकिने वातावरणविदहरु बताउँछन् । 

 

बायुमण्डलमा हुने चिसो र तातो हावाबीचको टकरावले उत्पन्न हुने विद्युतीय झड्काका कारण चट्याङ पर्ने मौसमका जानकारहरु बताउँछन् । पृथ्वीबाट उत्पन्न हुने तापक्रम आकाशमा उड्दै माथितिर जाँदा वर्षा गराउने चिसो हावाबीच भेट भएर हुने विपरितत प्रतिक्रियाले नै बायुमण्डलमा विद्युतीय झट्का उत्पन्न गर्दा चट्याङ पर्ने मौसमविदहरुको ठहर छ ।