एमाले नेता सुरेन्द्र गाईघाटमा, झडपको संभावना

२0७७ चैत्र २१ शनिबार
एमाले नेता सुरेन्द्र गाईघाटमा, झडपको संभावना

उदयपुर, चैत २१


एमालेका वरिष्ट नेता माधव नेपाल–झलनाथ खनाल समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे उदयपुर आईपुगेका छन् । एमाले उदयपुरको आयोजनामा शनिवार हुने जिलास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी यहाँ आएका हुन् । 


पार्टी अध्यक्ष इश्वरमणि राउनका अनुसार गाईघाटस्थित होटल टाउनहलको सभाकक्षमा आयोजित कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका छन् । पार्टीका वरिष्ट नेता माधव नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य पाण्डेमाथि कारबाही भएकै बेला नेपाल समूहले गरिरहेको देशव्यापी कार्यक्रमको दौरानमा पाण्डे गाईघाट आएका हुन् ।


कार्यकर्ता भेलाका प्रमुख अतिथि पाण्डेले पार्टी फुटको कारण, प्रतिगमनको सुरुवातमा ओली समूहको भूमिका, वर्तमान अवस्था र भावी रणनीति, आफुहरुमाथि ओली समूहले गरेको पार्टी विधानविपरितको कारबाही र भावी संघर्षका नीतिबारे प्रशिक्षण दिने जिल्ला पार्टीले जनाएको छ । उदयपुरका ८ वटै गाउँ तथा नगरपालिकाबाट नेता कार्यकर्ताको सहभागिता रहेको कार्यकर्ता भेलामा केन्द्रीय सदस्यहरु जगन्नाथ खतिवडा र बलदेव चौधरीलगायतको पनि सहभागिता रहेको जिल्ला अध्यक्ष राउतले बताएका छन् ।      


एमाले ओली समूहका अध्यक्ष केपी ओलीले केहीदिनअघि नेपाल र रावललाई ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निस्कासनको कारबाही गरिसकेका छन् । त्यस्तै भुसाल र पाण्डेलाई पनि दुईदिनअघि ओलीले कारबाही गरेका छन् । आफुहरुमाथिको कारबाहीको औचित्य पुष्टि नहुने नेपाल समूहको दावी छ । ओली प्रतिगमनकारी भएको र पार्टी फुटको प्रमुख कारक भएको भन्दै यो समूहले देशव्यापी रुपमा एमालेको समानान्तर कमिटी गठन गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । 

 

यता ओली समूहले पनि शनिबारै छुट्टै बैठक राखेको जनाइएको छ । दुवै समूहतर्फ खुलिनसकेका कार्यकर्तालाई भेलामा जानबाट रोक्ने उदेश्यले छुट्टै बैठकको आयोजना गरेको हुनसक्ने नेपाल समूहका एक नेताले आँकलन गरे ।  कार्यक्रममा उदयपुरका जनबादी गायक तथा संगीतकार शैलेन्द्र खतिवडा नेतृत्वको सांगीतिक टोलीले भेलामा सहभागी अतिथि तथा सहभागी नेता कार्यकर्तालाई गीत गाएर स्वागत गरेका छन् । 

 

पार्टीको समानान्तर भेला हुन थालेपछि दुईपक्षबीच झडप हुने संभावना देखिएको भन्दै कार्यक्रमस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । फागुन २३ गते सर्वोच्चको फैसलाले पूर्व एमाले र माओबादीलाई यथावत व्युँताईदिएपछि साविक एमाले पार्टी कार्यालय ओलीपक्षले कब्जा गरेर कार्यक्रमहरु गर्दै आएको थियो ।

 

पार्टीका निर्वाचिन अध्यक्ष इश्वरमणि राउत र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरीसहित बहुमत आफुहरुसँग भएको भन्दै नेपाल पक्षले पनि पार्टी कार्यालयमा साईनबोर्ड र झण्डा गाडेपछि केहीदिनयता दुईपक्षबीच झडप हुने अनुमान गरिएको छ । यसैबीच पाण्डेको उपस्थितिमा कार्यकर्ता भेला सोही भवनमा गर्ने तय भएपछि झडपको संभावना बढी भएको भन्दै जिल्ला सुरक्षा निकाय चनाखो भएको बताइएको छ ।

 

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले पार्टी कार्यालयमा नभई होटलमा कार्यकर्ता भेला गर्ने भएपछि झडपको कुनै संभावना नरहेको बताए । उनले संभावित खतराप्रति सचेत हुादै आवश्यक सुरक्षा व्यवस्था तयारी गरिएको बताएका छन् । नेपाल समूहले भने नेता कार्यकर्ताको संख्या अत्याधिक भएपछि सहभागी नआँट्ने भएकाले कार्यालय भवनमा नभई होटलमा कार्यक्रम गर्नुपरेको जनाएको छ ।