३
२0७७ चैत्र १९ बिहीबारउदयपुर, चैत १९
विद्यमान कानुनले अवैध ठहराए पनि वहुप्रचलित घरेलु मदिरा (कोदोको रस्की)लाई ब्राण्ड बनाउने योजना अघि सारेकी नेकपा एमालेकी नेतृ उषाकला राई केही दिनअघि प्रदेश १ को सामाजिक मन्त्री भएकी छिन् । एकवर्षअघि प्रतिबन्धित घरेलु रक्सीलाई 'ब्राण्डिङ' गरेर विदेश निर्यात गर्नुपर्ने र त्यसो गर्नसके आर्थिक समृद्धि आउने योजना अघि सारेकी मन्त्री राई खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
सामाजिक मन्त्रीको जिम्मेबारी पाएसँगै कोदाको रक्सीलाई ब्राण्ड गर्ने काम होला नहोला भन्ने अहिले प्रदेशभरी चर्चाको विषय भएको छ । गत बधबार सामाजिक विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री राईले कोदाको घरेलु मदिरालाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने आफ्नो योजना पूर्ववत रहेको कुरा दोहोर्याएकी छिन् ।
राईको उक्त अभिव्यक्तिले कोदाको रक्सीलाई कानुनी वैधता दिने बाटो खुल्ने संभावना बढेको छ । पत्रकार सम्मेलनमा मन्त्री लाईले कोदाको रक्सीलाई ब्राण्डिङ गरी सार्वजनिक बिक्री वितरण गर्न कानुनी र व्यवहारिक पक्षको अध्ययन थालिहाल्ने घोषणासमेत गरेकी छिन् ।
स्वदेशी मदिरा प्रतिबन्ध लगाएर विदेशी मदिरालाई प्रोत्साहन गर्न नहुने धारणा राखेकी मन्त्री राईले घरेलु मदिराको उत्पादन र बिक्री वितरणमा रोक लागेको विद्यमान कानुनी अड्चनहरु फुकाएर जानुपर्ने अवघारणा अघि सारेकी छिन् ।
त्यसका लागि प्रदेश सरकारले कानुनी आधारहरु खडा गर्दै 'ब्याण्ड भर्सेस ब्राण्ड'को अवधारणा अघि बढाइने उनको भनाई छ । पहिलो चरणमा स्वदेशी घरेलु कोदोको मदिरा बिक्री वितरण खुल्ला गर्न र त्यसका लागि कानुनी आधार तय गरिने उनी बताउँछिन् ।
प्रदेश १ का सबै जिल्लामा आदिवासी जनजाती समुदायको बाहुल्यता रहेको र उनीहरुले कुल देवतालाई चढाउनै पर्ने बाध्यता भएकाले लोकल रक्सी उत्पादन गर्दै आएका छन् । अन्नबाट उत्पादन हुने भएकाले गैरजनजाति समुदायले पनि प्रत्यक्ष अप्रत्यक्ष यसको उपभोग गर्ने गरेका छन् । कानुनी अड्चनका बाबजुद पनि लोकल रक्सी उत्पादन र विक्री बितरणमा कमी आउन नसकेको बरु प्रशासनको बन्देज गतिबिधिले सामाजिक सद्भाव बिथोल्ने र आर्थिक क्षति बेहोर्नुपर्ने बाध्यता हटाउन पनि स्वदेशी उत्पादनलाई कानुनी मान्यता दिनुपर्ने ठहर मन्त्री राईको छ ।
विदेशी मदिरा आयात गर्ने र स्वदेशी उत्पादनलाई बन्देज लगाउने नीतिले आर्थिक समृद्धि नआउने धारणा राख्ने मन्त्री राईको विचारमा ‘गाउँमा उत्पादन हुने रक्सी थोरै मात्रामा बेच्दा पनि प्रहरीले नियन्त्रण गर्ने तरिकालाई हटाउन कानुनी व्यवस्था गर्नु आवश्यक छ ।
लोकल रक्सीसँगै गाँजाको बिक्री वितरण पनि खुल्ला गर्नुपर्ने उनको सुझाव छ । विश्वमा धेरै देशले गाँजाको उत्पादन र बिक्री वितरणबाट आर्थिक लाभ लिइरहेको बताउँदै उनले नेपालमा मात्र गाँजा प्रतिबन्ध लगाएर आर्थिक उपार्जन र रोजगारीको अवसर गुमाउनु परेको बताईन्े । उनका श्रीमान् पूर्व कानुनमन्त्री शेरबहादुर तामाले एकवर्षअघि नै गाँजालाई कानुनी मान्यता दिएर आयआर्जन गर्न सकिने भन्दै गैरसरकारी विधेयक संसदमा दर्ता नै गराएका थिए । धेरैले सहमति जनाए पनि उनको प्रस्तावित विधेयकमाथि संसदमा वहस भने हुन पाएको छैन ।
एमालेको माधव नेपालपक्षकी राई ओली खेमामा पसेर प्रदेश मन्त्री भएपछि उनको ब्याण्ड भर्सेज ब्राण्डको योजनालाई सफल बनाउँन सक्छिन् कि सक्दिनन् त्यो भने प्रदेशबासीका लागि प्रतिक्षाको विषय भएको छ ।