रौतामाईमा एमाले जनप्रतिनिधिको भेला

२0७७ चैत्र १५ आईतवार
रौतामाईमा एमाले जनप्रतिनिधिको भेला

रौता (उदयपुर), चैत १५


फागुन २३ गते सर्वोच्च अदालतको फैसला अनुसार नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) पूर्ववत व्युँतिएपछि शनिबार उदयपुरको रौतामाई गाउँपालिकामा एमालेबाट विजयी जनप्रतिनिधिको भेला भएको छ । पार्टी पूर्ववत अवस्थामा फर्केपछि एमालेले सूर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधिको भेला पहिलोपटक आयोजना गरेको हो । 


रौतामाई ६ स्थित धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा आयोजित भेलामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा केन्द्रीय सदस्य मञ्जुकुमारी चौधरी, प्रदेश राज्यमन्त्री कला घले, प्रदेश सांसद बिमल कार्की, जिल्ला समन्वय प्रमुख खड्ग परियार र बेलका नगरप्रमुख दुर्गाकुमार थापालगायतले पछिल्लो राजनीतिक घटनाक्रम, एमालेको आागाम बाटो, पार्टीभित्रको अन्तरसंघर्षलगायत विषयमा धारणा राखेका थिए । 


पार्टी एकीकरणताका भएका सहमतिको कार्यान्वयन नहुनु, सरकारलाई पार्टीभित्रैबाट काम गर्ने वातावरण नहुनु र भएका उपलब्धिको गतल प्रचार गर्नुजस्ता कार्यले प्रधानमन्त्री र पार्टी एकता कमजोर भएको निश्कर्ष उनीहरुको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले देश विकासमा पुर्याएको योगदान, जनजीविकाको सवाल, आर्थिक समृद्धि अभियान, राष्ट्र र राष्ट्रियताको सवालमा राखेको चट्टानी अडानलाई पार्टीभित्रबाटै घेराबन्दी गरेको गुनासो नेताहरुको थियो । 


भारतलाई चुनौती दिँदै नयाँ नक्शा सार्वजनिक गर्दा भारतनिकट पार्टीभित्रकै नेताहरुले प्रधानमन्त्रीलाई सरकारबाट हटाउने प्रयास भएको आरोप पनि नेताहरुले लगाए । वर्षौदेखि अल्झिएको मेलञ्ची खानेपानी, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग तथा अन्य गौरवका आयोजनाहरु सरकारले धमाधम पुरा गर्न थालेपछि केही नेताहरु आाित्तएर सरकार गिराउन लागेको नेताहरुको गुनासो थियो । सरकारका सकारात्मक कामलाई पनि गलत व्याख्या गर्दै ओलीले पार्टी कब्जा गर्न खोजेको त्रास देखाउँदै फरक गुट चलाउँने नेताहरुका कारण पार्टी यस्तो अवस्थामा पुगेको उनीहरुको बुझाई थियो । 


कार्यक्रममा पार्टी विभाजनपछि मनोनित सचिब कुशलबाबु बस्नेत, जिल्ला सदस्यहरु भरत थापा, त्रियुगा नगर अध्यक्ष सृजना दनुवार, रौतमाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्कालगायतले धारणा राखेका थिए । गाउँ कमिटी अध्यक्ष केशव राईको अध्यक्षता, सचिवालय सदस्य दिनेश परियारको सञ्चालन र जिल्ला सदस्य तथा गाउँपालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा नं. १, ३, ४ र ५ बाट निर्वाचित वडाध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरु सहभागी थिए । सूर्य चिन्हबाटै निर्वाचित वडा नं. २ का वडाध्यक्ष खबिन्द्र रास्कोटी ठकुरी भने उपस्थित थिएनन् । 


८ वटा वडा रहेको रौतामाईमा १ देखि ५ सम्म वडाध्यक्षसहित सेटै एमालेले जितेको थियो । वडा नं. ६ र ७ नेकपा (माओबादी केन्द्र) र वडा नं. ८ मा नेपाली काँग्रेसका वडाध्यक्ष छन् । कार्यक्रममा शुक्रबार मात्र प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री भएकी कला घलेलाई स्वागत र सम्मान गरिएको थियो ।