कटारी मेयरकपमा ३ नं. को दबदबा 

२0७७ चैत्र १४ शनिबार
कटारी मेयरकपमा ३ नं. को दबदबा 

कटारी, चैत १४


कटारीमा आयोजित तेस्रो मेयर कप फुटबल प्रतियोगितामा कटारी ३ ले दबदबा कायम गरेको छ ।  प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा गतवर्षकै बिजेता कटारी ३ ले कटारी ५ लाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै अघिल्लो वर्षको उपाधि कायम राख्न सफल भएको हो । 


अत्यन्त रोमान्चक खेलमा कटारी ३ का प्रशील कार्कीले गरेको पहिलो गोल नै अन्तिम र निर्णायक हुँदै टिमलाई विजयी बनाउन सफल भएको थियो । कटारी ५ ले जवाफी गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनु परेको हो ।  


उपाधिसँगै कटारी ३ ले लाभकर कटाएर नगद ७६ हजार २ सय ५० रुपैंया, ट्रफि र प्रमाणपत्र पाएको छ  भने उपविजेतालाई ३८ हजार ७ सय ५०, मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि कटारी ५ का सागर राई घोषित भए भने  उदीयमान खेलाडी कटारी ३ सुरन धामी भए । 


त्यस्तै उत्कृष्ट डिफेन्डर कटारी ३ का गोपाल लिम्बु हुँदा सर्वोत्कृष्ट गोलकर्ताको उपाधि कटारी ३ का प्रताप राईले पाए । फाईनल खेलको म्यान अफ द म्याच कटारी ३ कै प्रशील कार्की तथा उत्कृष्ट  गोलरक्षक कटारी ३ कै रोशन राना घोषित भएका थिए ।


स्थानीय साथी समूह कटारीको आयोजना र नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको शुक्रबारै आयोजित समापन समारोहमा कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राई र नगर उपप्रमुख भीमकुमारी राउतलले ट्रफि, नगद र प्रमाणपत्रसहित पुरस्कार बितरण गरे । 


विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दे मेयर श्रेष्ठले कटारी नगरपालिका र आफु खेलकुदको विकासमा सँधै  लाग्दै आएको बताए । खेलकुद क्षेत्रमा अन्र्तराष्ट्रियस्रतमा नाम कमाईसकेका फुटबलका राष्ट्रिय खेलाडी हीरा भुजेल र कराँतेकी अनुपमा मगरजस्ता कटारीका खेलाडीलाई नगरको सदभावना दुत नियुक्त गर्ने घोषणा पनि मेयर श्रेष्ठले गरे । कटारीमा खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण गर्दै जाने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । कटारीको खेलमैदान स्थानीय टाईगर फिल्डलाई भूमाफियाबाट बचाएकोमा पूर्व खेलाडी दिपक राईलगायत कटारीका युवाहरुलाई मेयर श्रेष्ठले धन्यवाद पनि दिए ।


पुरस्कार वितरण समारोहमा एन्फा प्रवक्ता राई र उपमेयर भीमकुमारी राउतलगायत वक्ताहरुले खेलकुद क्षेत्रले युवाहरुलाई सही मार्ग निर्देशन दिने भन्दै यसको विकास र प्रबद्र्धनका लागि नगरपालिका, प्रदेश र संघीय सरकार तीनै तहले प्राथमिक्ता दिनुपर्नेमा जोड दिए । आवश्यक बजेट छुट्याएर खेलकुदका गतिबिधि वर्षेनी गर्न माग गर्दै वक्ताहरुले कटारी नगरपालिका जिल्लाकै फुटबल खेका लागि उर्बर भूमि सावित हुँदै आएको बताए । यसअघिजस्तै अव पनि कटारीका खेलाडीलाई राष्ट्रियस्तरको खेलाडीमा स्तरोन्नति गर्न नगरपालिका लागी पर्नुपर्नेमा उनीहरुको जोड थियो । 


कटारीको पुरानो बसपार्कस्थित टाईगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा कटारी नगरपालिकाका १४ मध्ये १३ वडाबाट खेल समूहको सहभागिता रहेको आयोजक साथी समूह कटारीले जनाएको छ ।