उदयपरकी सांसद घले प्रदेश राज्यमन्त्री 

२0७७ चैत्र १३ शुक्रबार
उदयपरकी सांसद घले प्रदेश राज्यमन्त्री 

उदयपुर, चैत १३


उदयपुरकी प्रदेश सांसद कला घले प्रदेश १ को राज्यमन्त्री नियुक्त भएकी छिन् । कटारी स्थायी घर भएकी घले गत ०७४ मंसिर २० गतेको प्रदेश निर्वाचनमा प्रत्यक्ष्यतर्फ  उदयपुर प्रदेश २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शुक्रबार विहान विस्तारित प्रदेश मन्त्रिपरिषदमा घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको हो । 


उनीसँगै रिक्त आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबोहाङलाई बनाइएको छ । सामाजिक विकास मन्‍त्रीको जिम्मा खोटाङबाट निर्वाचित सांसद उषाकला राईलाई दिइएको छ । मुख्यमन्त्री शेरधन राईले विस्तारित मन्त्रिपरिषद्मा यसअघिका राज्यमन्त्री रामबहादुर मगर र अम्बिरबाबु गुरुङलाई मन्त्रीमा बढुवा गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा राजकुमार ओझालाई ल्याइएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद बिघटन गरेपछि अनौपचारिक विभाजित भएको नेकपाका ओलीपक्षीय मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ट नेता माधव नेपाल र झलनाथ खनाल समुहले गरेको आन्दोलनकै क्रममा शेरधनविरुद्ध अविश्वास प्रस्ताव पेश भएको थियो । राईलाई हटाउदै माधव नेपालनिकट भीम आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव अघि बढाइएको थियो । 


अविश्वास प्रस्ताव पेश भएपछि २ पटक बोलाइएको संसद बैठक चल्न नपाई स्थगित भएको थियो । तर, फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकीकरणलाई अमान्य भन्दै पूर्व एमाले र पूर्व नेकपा (माओबादी केन्द्र)लाई नै व्युँताईदिएपछि केहीदिनअघि अविश्वास प्रस्ताव फिर्ता भएको थियो । अश्विास प्रस्ताव फिर्ता भएको ३ दिनभित्रै प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ।


मुख्यमन्त्री राईले यसअघिको सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी ९ सदस्यीय बनाएका छन् । संसद विघटनलगत्तै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबुहाङलाई पदच्युत गरिएको थियो भने त्यसको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका थिए । 


उनीहरुको राजीनामापछि मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस कुसियत, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ मात्र थिए । 


विस्तारित मन्त्रीहरुले शुक्रबारै सपथ लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले सपथ खुवाएका छन्।