रातमाटे टोल विकास संस्थामा आगलागी, १८ लाख क्षति

२0७७ चैत्र १३ शुक्रबार
रातमाटे टोल विकास संस्थामा आगलागी, १८ लाख क्षति

उदयपुर, चैत १३


सदरमुकाम नजिकै एक टोलविकास संस्थाको कार्यालय रहेको घरमा आगालगी हुँदा १८ लाख बराबरको धनमाल नष्ट भएको छ । शुक्रबार विहान २ः३० बजे एक्कासी भएको आगलागीबाट त्रियुगा नगरापलिका १० रातमाटे टोल विकास संस्थाको कार्यालय रहेको घर र घरभित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको हो । 


आगलागीले संस्थाको कार्यालय रहेको काठ र टायलको छानो भएको दुईतले घर स्थानीय भवकुमारी न्यौपानेको भएको बताइएको छ । आगोले न्यौपातेको घर, घरभित्र रहेका लत्ताकपडा, भाँडाबर्तन, अन्नपात, सुनचाँदी गरी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


त्यस्तै टोल विकास संस्थाको दराज, कुर्सी, टेबललगायत कार्यालयमा रहेका बिभिन्न सरसामान जलेर ३ लाख हाराहारीको क्षति भएको छ । व्यक्तिगत र संस्थाको गरी १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


आगलागी भएको थाहा पाउनेबित्तिकै खटेको जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा विहान ३ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।    

आगोले चौपाया तथता मानवीय भने हुन नपाएको स्थानीयले बताएका छन् । घरमा जडान भएको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।