साउनेका किसानलाई आधा मूल्यमा अदुवा, बेसारको बिउ 

२0७७ चैत्र ११ बुधबार
साउनेका किसानलाई आधा मूल्यमा अदुवा, बेसारको बिउ 

साउने, चैत ११


त्रियुगा नगरपालिका १४ साउनेका किसाले आधा भूल्यमा अदुवा र बेसारको बिउ पाएका छन् । व्यवसायिक कृषिमा लागेका किसानलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (कृषि–जोन) उदयपुर’ले गाउँमै पुगेर बिउ बितरण गरेको हो । 


जोन कार्यालयले चालुवर्षको कार्यक्रमअन्तर्गत ५० प्रतिशत छुट अनुदानमा अदुवा र बेसारको बिउ मंगलबार आयोजित एक कार्यक्रमबा बीच बितरण गरेको हो । 


साउनेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा कृषि–जोन अनुगमन समन्वय समिति संयोजक खड्ग परियार र अदुवा–बेसार जोन सञ्चालक समिति अध्यक्ष मणि खम्बु राईले उन्नत जातको अदुवा र बेसारको बिउ बितरण गरे । बिउ बितरण गर्न कृषि–जोन कार्यालय प्रमुख रामस्वगारत साहको नेतृत्वमा कर्मचारी र प्राविधिक टोली साउने पुगेको थियो । 

 


किसानलाई कपुर–१ र २ जातको बेसार २ हजार किलो र ७ सय ७५ किलो अदुवाको बिउ बितरण गरिएको छ । बिउ बितरण गर्दै प्रमुख परियारले स्थानीय कृषि उत्पादनलाई बढाउँदै  आयआर्जन बढाउन किसानलाई आग्रह गरे । आय प्रतिस्थापन गरी निर्यात गर्नेतर्फ जोड दिदै परियारले किसानलाई सहुलियत सेवा दिने उदेश्यले सरकारले कृषि–जोन कार्यक्रम सञ्चालन गरेर कृषिमा आधुनिकीकरण, यान्त्रिकरण, व्यवसायिकरण र औद्योगिकरण गर्दै आएको फाईदा भरपुर लुट्न आग्रह गर् । 


कृषक, जनप्रतिनिधि र कर्मचारीको समन्वयमा स्थानीय कृषि उत्पादन बढाउन सके आत्मनिर्भर र आर्थिकरुपमा सम्पन्न हुन बेर नलाग्ने भन्दै परियारले व्यवसायिक कृषि पेशाले नेपाली समाजलाई रुपान्तरण गर्न सहयोग पुग्ने बताए । उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा कार्यान्वयन गर्न कृषि नै प्रमुख बिकल्प भएको बताए । 


कार्यक्रममा जोन सञ्चालक अध्यक्ष मणि खम्बु राईले हरेक यात्राको सुरुवात शून्यबाट सुरु हुने भन्दै साउनेका किसानले २–४ घरधुरीले केहीवर्षअघि बेसार खेती गर्न थालेकोमा अहिले १ नम्बरको गुणस्तरीय बेसार उत्पादन गर्न सफल भएको बताईन् । अहिले साउनेको बेसार देशका बिभिन्न ठाउँमा बिक्री हुने गरेको भन्दै उनले अझ किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत छुटमा बिउ उपलब्ध गराएको बताईन् । 


कार्यक्रममा वडाध्यक्ष कुरुङ राईले पहिले गाउँलेले सामान्य रुपमा गरेको बेसार खेती अहिले व्यवसायिक खेतीमा बद्लिएको बताउँदै अव विदेश निर्यात गर्ने योजना बनाउनुपर्ने बताए । १५–२० वर्षअघि परम्परागत रुपमा गर्न थालेको बेसार खेतीले अहिले जिल्लाको ‘ब्राण्ड’ हुने मौका पाएको भन्दै वडाध्यक्ष राईले लकृषि–जोनले अनुदानमा बिउ दिएकोमा खुसी व्यक्त गरे ।  साउनेको बेसार गुणस्तरीय भएकाले सदरमुकामलगायत राजधानी काठमाडौंसम्म निर्यात भईरहेको भन्दै अध्यक्ष राईले यसको गुणस्तर कायम राख्न कृषि–जोनले बिषादि र रासायनिक मल हाल्न नदिन आग्रह गरे । किसानले जैविक मल र जैविक बिषादि प्रयोग गर्दै आएकाले यहाँको बेसार र अदुवा गुणस्तरीय भएकाले आगामी दिनमा पनि त्यसै गर्न वडाध्यक्ष राईको अनुरोध थियो ।    


जोनका कार्यालय प्रमुख रामस्वगारत साहले आर्थिकवर्ष ०७३–७४ देखि सुन्तला, बेसार र अदुवा खेतीमा जोन किटान गरी उदयपुरमा प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको भन्दै यसलाई थप बढाउँदै लाने बताए । उनका अनुसार न्यूनतम १० हेक्टरसम्म जमिनमा गरिने व्यवसायिक खेतीलाई पकेटक्षेत्र घोषणा गरेर सहयोग गर्ने गरिएको छ भने न्यूनतम १ सय हेक्टरभन्दा माथिलाई ब्लक, ५ सय हेक्टरभन्दा माथिलाई जोन र १ हजारभन्दा बढी क्षेत्रफलमा गरिने व्यवसायिक खेतीलाई सुपरजोन घोषणा गरेर सहयोग गर्ने नीति सरकारको छ । पकेटक्षेत्रका कृषकलाई स्थानीयतहले सहयोग गर्छ भने ब्लकलाई प्रदेश सरकारले र जोन तथा सुपरजोनलाई संघीय सरकारले रेखदेख र सहयोग गर्दै आएको जानकारी साहले दिए । 


उदयपुरमा ५ वर्र्षदेखि सुन्तला जोन सञ्चालन भईरहेको छ भने ३ वर्षदेखि अदुवा बेसार जोन घोषणा गरेर हाल ३ वटा जोन सञ्चालनमा रहेको कार्यालयका सूचना अधिकारी गणेश कार्कीले बताए । उनका अनुसार सुरुमा २ सय ४३ हेक्टरबाट सुरु भएको जोनमा अहिले ५ सय ६५ हेक्टर पुगिसकेको छ । चालुवर्षदेखि ५ वटा जोन बनाउने प्रक्रिया अघि बढाइएको र अव धान, आलु, बाख्रा र मकै खेतीको जोन बनाउन सकिने कार्कीले बताए । 


चालु वर्ष बिउ बितरणको जिम्मा दिपिका कृषि केन्द्रले ठेक्का पाएको छ । जसमार्फत ८२ हजार किलो अदुवा बेसारको बिउ यो वर्ष बितरण गरिने लक्ष्य रहेको कार्कीले बताएका छन् । उयदपुरमा चालु वर्षदेखि नै चक्लाबन्दी खेती पनि सुरु भएको छ ।