ब्राउन सुगरसहित ५ पक्राउ

२0७७ चैत्र ९ सोमबार
ब्राउन सुगरसहित ५ पक्राउ

उदयपुर, चैत ९


उदयपुर प्रहरीले ब्राउनसुगरलगायत बिभिन्न लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार दिउसो ४ः३० बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ४ नमुनाचोकबाट इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले ब्राउनसुगर, कारेक्स र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । 


इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले सप्तरीबाट उदयपुतर्फ आउादै गरेको सवारी साधन तथा मान्छेलाई रोकेर चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका १३ का ३० वर्षीय खगेन्द्र राई, सोही ठाउँका २४ वर्षीय दिपक रम्तेल र सोही ठाउँका सोही उमेरका हरि खड्का पक्राउ परेका हुन् । 


उनीहरुसँगै पक्राउ पर्ने अन्य चौदण्डीगढी नगरपालिका ५ का २३ वर्षीय सुनिल राई र सप्तरी जिल्ला कंकालिनी नगरपालिका ७ का २० वषीय बब्लु मुखिया पनि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर ३.३८ ग्राम, ७ बोतल कोरेक्स र ५० ग्राम गाँजा बरामद भएको छ ।  

 

साथै ६ थान मोवाईल र नगद २ हजार ५ सय २५ रुपैंया पनि बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् ।