आगलागीबाट बच्चा र ३ घर नष्ट, ८० लाख बढी क्षति 

२0७७ चैत्र ८ आईतवार
आगलागीबाट बच्चा र ३ घर नष्ट, ८० लाख बढी क्षति 

उदयपुर, चैत ८


उदयपुरमा आगलागीबाट एक ३ वर्षीय बच्चाको मृत्यु भएको छ भने ३ घर जलेर लाखौं बराबरको धनमाल नष्ट भएको छ । आईतबार साँझ ७ः०० बजेको समयमा कटारी नगरपालिका १० पाल्सिङ थुम्काका प्रकाश थापाको घरनजिककै परालको कुनिउबाट सल्केको आगोले सोही ठाउँका सुजन थापाका ३ वर्षीय छोरा अरविन्द्र थापाको मृत्यु भएको हो । 


आगलागीबाट थापाको ढुंगामाटोले बनेको फुसको छानो भएको ३ तले घर, २ वटा मतान र नगद १ लाख ५० हजार जलेर नष्ट भएको छ । त्यस्तै थापाको घरभित्र रहेका २ तोला सुन, १५ तोला चाँदी, अन्नपात, लत्तापकडा, भाँडाबर्तन र २ वटा बाख्राका पाठा र एउटा पाडोसहित २८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


त्यस्तै छिमेकी सुजन थापाको ढुंगामाटोले बनेको फुसको छाना भएको एउटा २ तले घर, फुसकै छानो भएको एउटा मतान, बाख्राको खोर, अन्न्पात, लत्ताकपडा, भाँडाबर्तन, बाख्राको पाठा २ र १ लाख ५० हजार नगदसहित ३० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको स्थानीय बेतिनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


त्यस्तै आगोले छिमेकी मेखबहादुर थापाको ढुंगामाटोको २ तले घर, एउटा मतान, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाबर्तन बाख्राका पाठा ३, कुखुरा २५ वटा गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ । फैलदै गएको आगो प्रहरी चौकी सोरुङछविसेबाट खटेको हवल्दार नेतृत्वको टोली, इलाका प्रहरी कार्यालय कटारीबाट खटेको प्रहरी नायव उपरीक्षकको टोलीसहित स्थानीय मिलेर राति १०ः०० बजेको समयसम्म लगाएर नियन्त्रणमा लिइएको छ ।


इप्रका कटारीबाट झण्डै २६ किलोमिटर उत्तरपूर्वमा रहेको घट्नास्थल पुगेको प्रहरी टोलीले सर्जमिन मुचुल्का तयार गरेर थप अनुसन्धान सुरु भएको छ । आगो के कारणले लागेको हो भन्ने विषयमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।