खुवालुङः ध्वस्त होईन, संरक्षण गरौं 

२0७७ चैत्र ८ आईतवार
खुवालुङः ध्वस्त होईन, संरक्षण गरौं 

महेश्वर चामलिङ राई 
चतारा (उदयपुर), चैत ७


खुवालुङ’ दृष्यमा बग्दै गरेको कोसी बीचमा रहेको अद्र्धकदको ढुंगा । अर्थात उदयपुर, सुनसरी, भोजपुर र खोटाङको सीमानाले छोएको सप्तकोसी नदीबीचमा परापूर्वकालदेखि देखिदै आएको एउटा बडेमानको ढुंगा । किराती समुदायको हरेक संस्कार संस्कृतिका कार्यमा नछुङ (धामी)ले फलाक्ने मुन्दुम (बेद)मा पटकपटक उच्चारण हुने शब्द खुवालुङ दुधकोसी, अरुण र तमोरको संगमस्थल त्रिबेणीस्थित नदी बीचमा आधा भाग गाडिएको अवस्थामा छ । 


पछिल्लो दुई महिनायता खुवालुङको चर्चा र चासो दुवै चुलिएको छ । खासगरी फागुन ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएपछि खुवालुङ जनजिब्रोसम्म आईपुगेको छ । पहिलो ९ महिने प्रधानमन्त्रीत्वकालमा ‘घरघरमा पाईपबाट ग्यास’, ‘हावाबाट बिजुली’, ‘पानी जहाज’ र ‘रेल’ ल्याउने महत्वकांक्षी गफ दिएका ओलीले अरु नभए पनि रेल चाही साँच्चै चलाउने योजना बनाएरै रातारात ठेक्का लगाउन चाहेका थिए । तर, सार्वजनिक खरिद ऐनविपरित ठेक्का लगाउन खोजेको पर्दाफास भएसँगै मिश्र थरका वरिष्ट इन्जिनियर ‘रिटायर’ भएपछि ओलीको ‘रेल सपना’ अवरुद्ध हुन पुग्यो । 


त्यसपछि चतारास्थित सप्तकोसीमा एकवर्षअघि सञ्चालनमा आएको जेटबोट (डुंगा)लाई नै उनका कार्यकर्ताले ओली सपनाको ‘पानी जहाज’ को संज्ञा दिदै आएका छन् । चतारादेखि त्रिबेणीसम्मको जेटबोट खण्डमा पर्ने उक्त ढुंगा जेटबोट चलाउन बाधक भएको भन्दै भत्काएर आउजाउ गर्न सहज बनाउन व्यवसायीको माग अनुसार सरकारले बजेट दिने आश्वासन दिएदेखि यो विषयमा चर्चा र चासो ह्वात्तै बढेको हो । पुस ५ गते संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका ओलीविरुद्ध प्रतिगमनको आरोप लाग्दै देशव्यापी विरोध प्रदर्शन भईरहँदा आफ्नो कदम सही साबित गराउने अभियानअन्तर्गत फागुन ८ गते विराटनगरमा आयोजित आमसभामा ‘जेटबोट चलाउन बाधा गर्ने ढुंगा क्रेन लगाएर भत्काउने’ भन्दै दिएको अभिव्यक्तिपछि सुरु भएको कम्पन अहिले १ नं. प्रदेश र खासगरी किराती समुदायलाई हल्लाउने ८ रेक्टरस्केलको ‘भूकम्प’ बन्न पुगेको छ । 


ओली अभिव्यक्तिसँगै एकातिर खुवालुङको संरक्षण गर्ने अभियान सुरु भयो भने अर्कातिर बजेट पाउने आश्वासनले हौसिएका केही स्थानीयहरुलाई जेटबोट सञ्चालकले उपभोक्ता समितिमा राखेर ‘कमाउ धन्दा’को प्रलोभन देखाएपछि खुवालुङ भत्काउनै पर्ने अडान लिनेहरु पनि केही देखिए, पछिल्लो समय खुवालुङको अर्थ, इतिहास र महत्वबारे पक्षविपक्षमा व्यापक बहस सुरु भयो । सामाजिक सञ्जालका भित्ताहरु खुवालुङको मिथक, यसको प्राचिन, आध्यात्मिक र ऐतिहासिक महत्व र संरक्षण गर्नुपर्ने कारणबारे जनमत तयार हुँदै गयो । फेसबुक, युट्युव, इन्स्टाग्राम, ट्वीटरमा खुवालुङकै विषय केन्द्रित हुँदैछन् भने मुन्दुमबेत्तादेखि पहिचानको सामान्य चेत भएकासम्मले खुलेर यसको संरक्षणमा लाग्न राज्यलाई सुझाउँदै अन्यथा गम्भीर शंकट आउने चेतावनी दिइरहेका छन् । 


बहसकै क्रममा पछिल्लो १० दिनअघि अभियन्ता दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लियो । खुवालुङ भत्काउन नदिने अडान लिएकै कारण जेटबोट सञ्चालकहरुको उजुरीका आधारमा पक्राउ परेका उनलाई चारतिरको दबाबपछि २४ घण्टामै प्रहरी छाड्यो । तयसपछि थप घनीभुत भएको बहसको एक महिनायता भने खुवालुङ भत्काउने अभिमत सेलाउँदै गएको छ र संरक्षण गर्नुपर्छ भन्ने जनमत बढेको छ । अगुवा किराती समुदाय र बिभिन्न क्षेत्र, बर्गका प्रबृद्ध व्यक्तिहरु खुवालुङको पक्षमा चट्टानी अडान लिदै राज्यलाई सचेत गराईरहेका छन् । किराती समुदायको प्रागइतिहाससँग जोडिएको खुवालुङ हेर्दा सामान्य ढुंगा देखिए पनि यसको महत्व र अर्थ सिंगो किराती समुदायको समबेदनासँग जोडिएको निश्कर्ष निकालिएको छ । अहिले खुवालुङको मिथक, यसको प्राचिन, आध्यात्मिक र ऐतिहासिक महत्व केलाउँदै संरक्षण गर्नुपर्ने कारणबारे जनमत तयार भएको अभियन्ताहरु बताउँछन् । 


भाषाशास्त्री डा. तारामणि राई किराती समुदायको मुन्दुममा जवर्जस्त र अनिवार्य आउने खुवालुङ शब्दले यसको संरक्षण गर्नुपर्नेमा अल्मलिनु नपर्ने बताउँछन् । चर्चा र चासोले उत्कर्ष छोईरहेका बेला फागुन २९ गते नयाँ पत्रिकाको ‘झन् नयाँ’ संस्करणमा डा. राईले ‘खुवालुङको रक्षार्थ प्रतिरोध’ शीर्षकमा लामो लेख लेख्दै राज्यपक्षबाट एकपछि अर्को सांस्कृतिक एवम् भाषिक दमनको क्रम बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘कहिले खोकना, कहिले कमलपाखेरी त कहिले बालाजु बाइपासमा सडक विस्तार र विकासको नाममा दमन भईरहेको छ भने कहिले मात्रृभाषामा कुराकानी गरेवापत हिरासतमा जवर्जस्ती बस्नुपर्ने अवस्था सिर्जना भएको छ’ डा. राईले चिन्ता र असन्तुष्टि देखाएका छन् ‘दमनको पछिल्लो श्रृङ्खलाको रुपमा खुवालुङ फुटाउने कुरालाई लिन सकिन्छ, जसले राज्य अझ अनुदार र असहिष्णु बन्दै गईरहेको संकेत गर्छ ।’ 


खुवालुङको अर्थ, प्रागऐतिहासिक प्रस्थानविन्दु, खुवालुङ शब्दको अन्यौल र प्रतिरोधी आवाजको शक्ति उपशीर्षकमा व्याख्यात्मक आलेख गरेका डा. राईले ‘कसैको आस्थाको केन्द्र वा सांस्कृतिक बिम्वलाई भत्काएर सुखी नेपालीको कल्पना गर्न सकिएला ?’ भन्ने निश्कर्षमा गम्भीर प्रश्न गरेका छन् । किराती समुदायको संस्कार संस्कृतिमा बारम्बार उच्चारण हुने खुवालुङ शब्दले पनि त्यो कोसीबीचमा देखिने ढुंगा मात्र नभएर यसको आध्यात्मिक तथा सांस्कृतिक महत्व भएको उनको विश्वास छ । विगत दुईदशकदेखि बिभिन्न जातजातिको मात्रृभाषा, संस्कार, संस्कृति र इतिहासबारे अध्ययन गर्दै आएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. राईले ३ वर्षअघि आयोजित एक गोष्ठमा खुवालुङबारे अनुसन्धानमूलक कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । 


केहीदिनअघि डा. राईले ‘खुवालुङमाथि किन धावा’ शिर्षकमा सामाजिक सञ्जाल फेसबुकमा पनि आफ्नो मत जाहेर गरेका छन् ‘खुवालुङ कसको हो र कहाँ पर्छ भन्नेबारे बहस गरिरहनु पर्ने विषय हो जस्तो लागेको थिएन । किनभने किराती मिथक र मुन्दुममा खुवालुङको प्रशंग बारम्बार आउने मात्र होईन जुन बिन्दुबाट किराती (आजका लिम्बु, राई, याक्खा, कोईच (सुनुवार), थारु समुदाय तमोर, अरुण, दुधकोसी र सुनकोसी पछ्याई गएका थिए भनिन्छ । खुवालुङ किरातीहरुको सांस्कतिक आस्थाको केन्द्र त हुँदै हो, पछिल्लो चोटी किराती दाजुभाइ छुट्टिएको बिन्दु पनि हो ।’ डा. राईले भाषा वैज्ञानिक दृष्टिकोणको पुष्ट्याई गर्दै प्रश्न उठाएका छन् ‘मुलुकको प्रधानमन्त्रीजस्तो जिम्मेबार व्यक्तिले एकातिर पशुपतिनाथलाई सयौं किलो सुनको जलहरीले छपप्कै पार्ने तर, भाषा वैज्ञानिक हिसावले सिद्ध कुरामाथि भ्रम सिर्जना गर्ने र उत्तेजित तुल्याएर कसैको सांस्कृतिक आस्था भत्काउने कुरा गर्नु विरोधाभाष भएन र ?’ 


अर्का भाषाशास्त्री डा. कैलाशकुमार राई खुवालुङ किराती समुदायको आदिम संस्कृतिसँग जोडिएको विश्वास गर्छन् । त्रियुगा जनता बहुमुखी क्याम्पसका सहप्राध्यापकसमेत रहेका अध्ययता राईले खुवालुङ आसपास बेलका राजा, बेलका रानी, मैना राजा मैना रानी, रंगमहल, बराहक्षेत्रजस्ता धार्मिक राजनीतिक महत्वका स्थलहरु रहनुले पनि आफैमा महत्वपूर्ण भएकाले संरक्षणमा जोड दिनुपर्नेमा जोड छ । मुन्दुम अनुसार प्रकृतिपुजक आदिबासी जनजातिहरु पानी, ढुंगा, माटो, रुखविरुवालाई नै देवदेवता ठानेर श्रद्धापूर्वक पुजा गर्ने भएकाले राज्यका लागि सामान्य ढुंगा भए पनि खुवालुङ किराती समुदायका लागि अत्यन्त श्रद्धा र महत्वको चिज रहेको डा. राईको अथ्र्याई छ । 


खुवालुङ संरक्षण समिति, आदिवासी जनजाति संघसंस्थाहरु र किरात राई यायोक्खाले खुवालुङ संरक्षण अभियान चलाईरहेका बेला बिभिन्न राजनीतिक दलहरुले पनि ऐक्यबद्धता जनाएका छन् । जनता समाजबादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतले भत्काउने होईन, संरक्षण गरेर पर्यटन विकासमा जोड दिदै चर्को अडान लिदै गर्दा नेकपा (एमाले)का सचिव तथा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले खुवालुङको संरक्षण गर्नुपर्नेमा जोड दिदै अभियानमा ऐक्यबद्धता जनाएका छन् । भट्टराईले फेसबुकमा लेखेका छन् ‘सप्तकोसी नदीमा रहेको खुवालुङ ढुंगा किरात समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गाँसिएको छ । यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको विकास गरौं, नहटाऔं, इतिहास र संस्कृतिप्रति सम्मान प्रकट गरौं !’


खुवालुङ बचाउ अभियानमा सुरुवातदेखि लागी परेका राजन मुकारुङ, स्थानीय युवाहरु दिनेश राई, पत्रकार भिषण राई, प्रकाश राईलगायतको टोली निरन्तर संरक्षण र बचाउ कार्यमा लागिरहेका छन् । किराती समुदायको सांस्कृतिक बिम्बको रुपमा रहेको खुवालुङ सांस्कृतिक अनुष्ठानसँग जोडिएको मात्र नभएर मुन्दुमी ज्ञचान प्रणालीमा या मिथकहरुको बर्णनमा बारम्बार पुनराबृत्ति हुने हुनाले यो बिना अनुष्ठान नै अपुरो मानिने उनीहरुको तर्क छ । सर्बसाधारणदेखि राजनीतिकर्मी, साहित्यकार, पत्रकार र चर्चित कलाकार दयाहाङ राईसम्मका संरक्षण अभियन्तले प्रदेश मुख्यमन्त्री शेरधन राईलाई भेटेर किराती आस्थासँग जोडिएको खुवालुङ भत्काउने होईन, संरक्षण गरी पर्यटन र धार्मिकस्थानको रुपमा विकास गर्न माग गरेका छन् । प्रतिक्रियामा मुख्यमन्त्री राईले खुवालुङ भत्काउने कुरा र बजेट छुट्याएको भन्ने कुरा हल्ला मात्र भएको र कसैको आस्थामाथि धावा बोल्ने काम प्रदेश सरकारबाट नहुने आश्वासन दिएको अभियन्ताहरुले बताएका छन् ।

(यो सामग्री नागरिक अनलाईन र नागरिक पत्रिकामा यसअघि प्रकाशित भईसकेको छ ।)