जिल्ला विकास समीक्षा सकियो

२0७७ चैत्र ७ शनिबार
जिल्ला विकास समीक्षा सकियो

उदयपुर, चैत ७

 

जिल्ला समन्वय समितिद्वरा आयोजित दुईदिने जिल्ला विकास समीक्षा कार्यक्रम सकिएको छ । बिहीबार ‘स्थानीयतह, विकास निर्माणमा संलग्न कार्यालय तथा विकास साझेदार संस्थाहरुको आर्थिकवर्ष ०७६–७७ को वार्षिक तथा ०७७–७८ को अद्र्धवार्षिक समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

 

जिल्ला समन्वय प्रमुख खड्ग परियारको अध्यक्षता तथा उपप्रमुख गंगा राईको स्वागत मन्तव्यमा जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न कार्यक्रममा जिल्लाका ४ नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलाका तथा लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता थियो । कार्यक्रममा ८ वटै स्थानीयतह, जिल्लास्थित विषयगत संघ तथा प्रादेशिक गरी २२ कार्यालयको ०७६–७७ को वार्षिक र ०७७–७८ को अद्र्धवार्षिक प्रगति बिबरण प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिबेदनमाथि सहभागी जनप्रतिनिधि, कर्मचारी, पत्रकार, कानुन व्यवसायी, महिलालगायत बिभिन्न पेशा व्यवसायमा संलग्नहरुले टिप्पणीसहित समीक्षा गरेका थिए ।

 

 

प्रदेश सांसद बिमल कार्की, हिमाल कार्की, नारायण बुर्जा, कला घले, अम्किा थापा, सुनिता चौधरी र सञ्जा दनुवारको उपस्थिति रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाई, प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुखहरु सहभागी थिए । शुक्रबार समीक्षा बैठकको समापन गर्दै समन्वय प्रमुख परियारले जिल्लाका सबै स्थानीय तह तथा विषयगत कार्यालयहरुले आर्थिक पारदर्शिताका साथ विकास निर्माणमा जोड दिनुपर्ने बताएका थिए ।

 

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा व्यवहारमा उतार्न संघ, प्रदेश र स्थानीयतहका सबै जनप्रतिनिधि लागी पर्नुपर्ने आवश्यक्ता औंल्याउँदै परियारले त्यसका लागि जिल्ला समन्वय समितिले खेल्नुपर्ने भूमिकामा कमी नहुने प्रतिबद्धता जनाएका थिए ।