बोल्न नसक्नेमाथि बलात्कारीलाई जन्मकैद

२0७७ चैत्र ६ शुक्रबार
बोल्न नसक्नेमाथि बलात्कारीलाई जन्मकैद

उदयपुर, चैत ६

बोल्न नसक्ने अपाङ्गता महिलालाई बलात्कार गर्ने उदयपुरका एक अभियुक्तलाई जन्मकैदको सजाय तोकिएको छ । बलात्कार आरोपमा गत भदौ ३० गते पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका ४३ वर्षीय पुरुषलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको सजाय तोकेको हो । 


२० वर्षीया बोल्न नसक्ने युवतीलाई जवरजस्ती करणी गरेको ठहर गर्दै बिहीबार बसेको जिल्ला न्यायाधीश दिपक खनालको एकल इजलासले त्रियुगा नगरपालिका १२ का सूर्यबहादुर विकलाई जन्मकैदको फैसला सुनाएको हो । फैसलाले पीडितलाई क्षतिपुर्तिवापत २५ हजार भरणपोषणको निर्णय पनि सुनाएको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । 


पीडितका आफन्तले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले २०७७  भदौ ३० गते जवरजस्ती गरेको आरोपमा विकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । अदालतबाट असोज २३ गते पुर्पक्षका लागि थुना आदेश पाएका बिकलाई जन्मकैदको फैसला भएको स्रेस्तेदार कार्कीले बताएका छन् ।