‘त्रियुगा खेलकुद महोत्सव’  सकियो, फुटबलको उपाधि १० नं.लाई 

२0७७ चैत्र २ सोमबार
‘त्रियुगा खेलकुद महोत्सव’  सकियो, फुटबलको उपाधि १० नं.लाई 

उदयपुर, चैत २


फागुन २३ देखि सुरु ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ सकिएको छ । सोमबार सम्पन्न महोत्सवको फुटबलतर्फ त्रियृगा नगरपालिका १० नं. वडा बोक्सेले जितेको छ । त्रियुगा नगरपालिका १३ हवाईफिल्डको थरुहट–उदयपुर रंगशालामा सम्पन्न फाईनलमा त्रियुगा ८ लाई १–० को गोलान्तरले पराजित गर्दै बोक्से विजयी भएको हो ।


बोक्सेले खेल सकिन ५ मिनट बाँकी रहँदा १ गोल गरेर उपाधि हात पारेको हो । बोक्सेका लागि समिराज राउतले गोल गरेका थिए । सुरुदेखि मध्यान्तरसम्म दुवैपक्षबाट गोल हुन नसकेपछि चर्को प्रतिस्पर्धा हुँदा खेलको उत्तराद्र्धमा राउतको प्रहार गोलमा परिणत भएको थियो ।    सोही गोल १० नं. का लागि उपाधि लिन काफी भयो । 


सोमबारै आयोजित समापन समारोहमा महोत्सवको अन्त्य गर्दै त्रियुगा नगरप्रमुख बलदेव चौधरीले विजेता समूहलाई ५० हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे । उपविजेता त्रियुगा ८ लाई जिल्ला समन्वय समिति उपप्रमुख गंगा राईले ३० हजार नगद, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिन् । सर्वाधिक गोलकर्ताको उपाधिसमेत पाएका समिराज राउतलाई नगद, ट्रफि र प्रमाणपत्रले सम्मान गरियो । 


महोत्सवमा अघिल्लो दिन सम्पन्न भलिबलतर्फको खेलमा महिला पुरुष दुवैको विजेता त्रियुगा १५ खाँबुलाई पुरुषतर्फ २५ र महिलातर्फ २० हजार नगदका साथ ट्रफि र प्रमाणपत्र प्रदान गरियो ।  पुरुषतर्फ उपविजेता त्रियुगा १० लाई १५ हजार र महिलातर्फ ११ लाई १२ हजार नगदका साथ ट्रफि र प्रमाणपत्र मेयर चौधरीले प्रदान गरे । उत्कृष्ट लिप्mटर, सेटर, सर्भर र स्टाईकरलाई १३ नं. वडाध्यक्ष पशुपति चौधरीले नगद तथा प्रमाणपत्र प्रदान गरिन् । 


त्रियुगा नगरपालिकाको प्रायोजन तथा नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न महोत्सव  समापनमा पत्रकार, सहयोगी संघसंस्था तथा महोत्सवका बिभिन्न उपसमितिलाई आयोजकको तर्फबाट नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले मायाको चिनो प्रदान गरे । महोत्सवमा फुटबल र भलिबलसँगै साईक्लिङ, व्याडमिन्टन, कराते, तेक्वान्दो, बक्सिङ र क्रिकेटमा प्रतिस्पर्धा गराइएको आयोजक खेल संयोजक दिपक किरातीले बताए ।


पुरस्कार वितरण गर्दै नगरप्रमुख चौधरीले युवाहरुलाई अनुशासित, स्वस्थ्य र गतिसिल बनाउन नगरपालिकाले खेलकुद महोत्सवको आयोजना गरेको बताए । उनले देश विकास र समृद्धिमा युवाशक्तिको महत्वपूर्ण भूमिका हुने भए पनि लागुऔषधमा फसेर जीवन बर्बाद बनाईरहेको बताए । खेलकुदको माध्यमबाट युवाहरुलाई सही दिशा दिन सहयोग पुगोस् भनेर नगरपालिकाले वर्षेनी खेलकुद कार्यक्रम गर्दै आएको मेयर चौधरीले बताए । 


गाईघाट पछिल्लो समय ‘लागुऔषधको हब’ बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मेयर चौधरीले युवाहरुलाई दुव्र्यसनमा फस्न नदिन र फसेकालाई मुक्त बनाउन नियमित खेलकुद गतिबिधि गर्ने प्रतिबद्धता जनाए । भविष्यका कर्षधार युवाशक्तिलाई लागुऔषध दुव्र्यसनबाट बँचाउन प्रहरीको सहयोगमा सचेतना कार्यक्रमसमेत नगरपालिकाले सञ्चालन गर्दै आएको बताए ।


जिल्ला समन्वय उपप्रमुख गंगा राईले धेरै किसिमका खेलकुद एकैचोटी सञ्चालन गर्नेगरी त्रियुगा नगरपालिकाले खेलकुद महोत्सव आयोजना गरेको यो जिल्लामै पहिलो र उदाहरणीय भएको बताईन् । खेलकुदबाट युवाहरुलाई स्वस्थ्य, अनुशासित र उर्जासिल बनाउन नगरपालिकाले यस्तो महोत्सव आयोजना गरेकोमा धन्यबाद दिदै आउँदा दिनमा पनि निरन्तरता दिन उपप्रमुख राईले सुझाईन् । 


महोत्सवबाट उदयपुरका खेलाडीहरुलाई जिल्लामा मात्र नभएर प्रदेश, राष्ट्रिय हुँदै अन्तराष्ट्रिस्तरका खेलाडीमा रुपान्तरण गर्न सकिने अपेक्षासमेत गरिएको उपप्रमुख राईले बताईन् ।