"त्रियुगा खेलकुद महोत्सव" भलिबलमा महिला–पुरुष दुवैतर्फको उपाधि खाँबुलाई 

२0७७ चैत्र १ आईतवार
"त्रियुगा खेलकुद महोत्सव" भलिबलमा महिला–पुरुष दुवैतर्फको उपाधि खाँबुलाई 

उदयपुर, चैत १

गाईघाटमा जारी ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ को भलिबलमा महिला पुरुष दुवैतर्फ त्रियुगा नगरपालिका १५ खाँबुले जितेको छ । त्रियुगा नगरपालिका १० बोक्सेस्थित नायाँबस्ती खेलमैदानमा आईतबार भएको फाईनल खेलमा पुरुषतर्फ १० नं. वडालाई र महिलातर्फ ११ नं. लाई हराउँदै खाँबुले उपाधि कब्जा गरेको हो । 


पुरुषतर्फको खेलमा २५–२२, २५–१८ र २५–२० अंक जोड्दै ३–० को नतिजाले १५ नं. उपाधि हासिल गर्न सफल भएको हो भने त्यसअघि महिलातर्फको खेलमा सोझो सेटमा ११ नं. लाई हराएको थियो । पुरुषतर्फ विजेतालाई २५ हजार र महिलातर्फ २० हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेतालाई पुरुषतर्फ १५ हजार र महिलातर्फ १२ हजार नगदसहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।  


आयोजक समिति सदस्य ज्ञानेन्द्र मगरका अनुसार पुरस्कार भने सोमबार त्रियुगा १३ हवाईफिल्डस्थित थरुहट–उदयपुर रंगशालामा हुने महोत्सव समापन समारोहमा बितरण गर्ने कार्यक्रम रहेको छ । 


यता फुटबलतर्फ सोमबार फाईनल खेल हुने भएको छ । आईतबार ४ समूहबीच मैत्रीपूर्ण खेल हुँदा कर्मचारी र आयोजक जितेका छन् । पहिलो खेल पत्रकार र कर्मचारी समूहबीच हुँदा कर्मचारीले २–० ले पत्रकारलाई पराजित गरेको छ भने दोस्रो खेलमा आयोजक टिमले बैंक कर्मचारीलाई ५–० ले पराजित गरेको छ । 


फुटबलको फाईनल खेल पनि सोमबारै हुनेछ । फाईनलमा त्रियुगा ८ र १० बीच प्रतिस्पर्धा हुने छ । नगरपालिकाका १६ वटै वडाको सहभागिता रहेको प्रतियोगितामा सशक्त टिमहरु त्रियुगा ११ गाईघाट र त्रियुगा १२ पुरानो गाईघाट पराजित भईसकेका छन् । उनीहरुलाई ८ र १० ले पछि पार्दै फाईनलमा पुगेको अखिल नेपाल फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताएका छन् ।


त्रियुगा नगरपालिकाको प्रायोजन र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा फागुन २३ गतेदेखि सुरु महोत्सवमा बिभिन्न ८ वटा विधामा ८ सय बढी खेलाडीको सहभागिता रहेको छ । साईक्लिङ, व्याडमिन्टन, कराते, तेक्वान्दो, बक्सिङ र क्रिकेट र भलिबल स्पर्धा सकिएको छ । अव बाँकी फुटबल सोमबार प्रतिस्पर्धा गराउँदै समापन गर्ने कार्यक्रम रहेको आयोजक अध्यक्ष प्रदिप श्रेष्ठले बताएका छन् ।