औषधि व्यवसायी संघ अध्यक्षमा उद्धव

२0७७ चैत्र १ आईतवार
औषधि व्यवसायी संघ अध्यक्षमा उद्धव

उदयपुर, चैत १


नेपाल औषधि व्यवसायी संघ उदयपुरको अध्यक्षमा उद्धव दाहाल चयन भएका छन् । शनिबार  गाईघाटमा सम्पन्न औषधि व्यवसायीहरुको प्रथम अधिवेशनले दाहालको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको हो । 


समितिको उपाध्यक्ष शुरेसकुमार साह, महासचिव वीरेन्द्रकुमार झा, सचिव सनम राई, कोषाध्यक्ष विजयकुमार साह र सहकोषाध्यक्षमा सञ्जिव बस्नेत चयन भएका छन् । निर्वाचन समिति सदस्य भरत खड्काका अनुसार सदस्यमा कुमार सार्की, बल्लुकुमार गुप्ता र दिनेश्वर साह छानिएका छन् । 


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले व्यवसायिहरुको हकहित र सामाजिक दायित्वमा कृयाशिलता बढाउन नयाँ समितिलाई आग्रह गरे । राज्यका संयन्त्रलाई सघाउ पुर्याउँदै जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न औषधि व्यवसायी संघको महत्वपूर्ण भूमिका रहने उनले बताए । व्यवसायीभित्रको सिण्डिकेट प्रथाको अन्त्य गर्दै राष्ट्रको अभिभारा सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा गर्न आआफ्नो क्षेत्रबाट लागि पर्न सिडिओ सेंढाईको आग्रह थियो । 


कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले औषधि व्यवसायीभित्र फैलिएको विकृति विसंगतिको अन्त्य गर्दै जनताको स्वास्थ्य अधिकार सुरक्षित गर्न व्यवसायी संघले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । व्यवसायीका सानातिना कमीकमजोरीका कारण कतिपय अवस्थामा लागु औषध कारोवार बढेको, उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने गरेको समस्या सुनाउँदै उनले त्यसप्रति सबै व्यवसायीलाई सम्बेदनसिल र सचेत हुन दाहालको आग्रह थियो । 


कार्यक्रममा संघका प्रदेश २ अध्यक्ष शिवनाथ सिंह, कोसी अञ्चल समिति अध्यक्ष कुमार खतिवडा, मेची अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघ अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीलगायतले औषधि व्यवसायीको हितसँगै उपभोक्ताको हित हुनेगरी अघि बढ्न नवगठित समितिलाई सुझाएका थिए । राज्यले प्रतिवन्ध लगाएका औषधिहरु पूर्णरुपले किनबेचमा बन्द गर्न सुझाउँदै उनीहरुले  अनुमतिपत्र (लाइेसेन्स)मा उल्लेख भए वमोजिमका औषधिको मात्र कारोवार मात्र गर्न उनीहरुको आग्रह थियो । 


भेलमा सहभागी व्यवसायीहरुले औषधि पसल दर्ता प्रक्रिया धेरै झन्झटिलो भएकोे भन्दै त्यसमा सहजीकरण गरिदिन सरोकारवाला निकायसमक्ष आग्रह गरेका थिए । उनीहरुले सबैक्षेत्रमा सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेकाले व्यवसायिको अधिकार पनि गाउँमा ल्याउने गरी औषधि व्यवसाय दर्ता र नविकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।