''त्रियुगा खेलकुद महोत्सव'' व्याडमिन्टन सकियो, १७ वर्षमुनि सौरभ प्रथम 

२0७७ फाल्गुन २६ बुधबार
''त्रियुगा खेलकुद महोत्सव'' व्याडमिन्टन सकियो, १७ वर्षमुनि सौरभ प्रथम 

उदयपुर, फागुन २५

गाईघाटमा जारी ‘प्रथम त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव ०७७’ को तेस्रो दिन व्याडमिन्टन खेल सकिएको छ । अघिल्लो दिनदेखि सुरु व्याडमिन्टनमा १७ वर्षमुनिको स्पर्धामा सौरभ ठकुरी प्रथम भएका छन् । प्रतिश राई (बुद्ध) दोस्रो भएका छन् ।


८ खेलाडीले प्रतिस्पर्धा गरेको खेलमा ठकुरी प्रथम भएका हुन् । खुल्ला जोडीतर्फ हिमाल श्रेष्ठ र सरोज खवासले प्रथम स्थान हासिल गरेका छन् भने भेट्रान्सतर्फ दिपक राई र गोविन्द थापाको जोडीले उपाधि चुमेको छ । सोही जोडी खुल्लातर्फ दोस्रो भएको छ भने भेट्रान्सतर्फ चित्र थापा र कालुप्रसाद उरावको जोडी दोस्रो भएको छ । 


खुल्लातर्फ ४८ जोडीको प्र्रतिस्पर्धा थियो भने भेट्रान्सतर्फ १८ जोडीले स्पर्धा गरेको प्रतियोगिताका खेल संयोजक दिपक किरातीले बताए । व्याडमिन्टनका विजयी खेलाडीलाई मंगलबारै त्रियुगा नगरप्रमुख बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहाल, सशस्त्र प्रहरीका एसपी सुधिर सुवेदीलगायतले नगद, ट्रफि, शिल्ड र प्रमाणपत्र वितरण गरे । 


खुल्ला र भेट्रान्स प्रथमलाई १५ हजार, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार र ५ हजार नगदसहित पुरस्कार दिइएको खेलमा १७ वर्षमुनिका विजेता प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार ७ हजार र ५ हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।     


महोत्सवको पहिलो दिन आईतबार साईक्लिङ प्रतिस्पर्धा हुँदा रुवेन राई प्रथम, केशव थापा दोस्रो र अवतार राई तेस्रो भएका थिए । त्यसैगरी महिलातर्फ लक्ष्मी मगर, जमुना थापा र आसा लिम्बु क्रमशः प्रथम, दोस्रो र तेस्रो भएको नेपाल साईक्लिङ संघ उदयपुरका अध्यक्ष जितु रोईलाले बताए । 


उद्घाटनकै दिनदेखि जारी फुटबलतर्फको प्रतिस्पर्धा कायमै छ । त्रियुगा १३ स्थित थरुहट उदयपुर रंगशालामा जारी फुटबलमा मंगलबारसम्म वडा नं. २, ३, ७, ८, ९, १० ११, १२ र १३ ले प्रतिस्पर्धा गरिसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले बताए । 


फागुन २ गतेसम्म सञ्चालन हुने महोत्सवको अन्तिम दिन फुटबलको फाईनल हुने आयोजक त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा फुटबल, भलिवल (महिला पुरुष दुवैतर्फ), क्रिकेट, साईक्लिङ, कराँते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टनमा प्रतिस्पर्धा गराइनेछ ।