लिमचुङबुङमा अपाङ्गता घुम्ती शिविर

२0७७ फाल्गुन २५ मंगलवार
लिमचुङबुङमा अपाङ्गता घुम्ती शिविर

उदयपुर, फागुन २५


उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकामा ‘अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर’ सम्पन्न भएको छ । अपाङ्गता भएका गाउँपालिकाबासीलाई घर आँगनमै सेवा प्रवाह गर्ने उदेश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । 


गत १६ गतेदेखि सुरु शिविर शनिबारसम्म सञ्चालि शिविर वडा नं. १ को बाँसबोटेबाट सुरु भएर वडा नं. ५ को जाँते पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए । उनका अनुसार पहिलो दिन बाँसबोटे, दोस्रो दिन २ नं. वडा ताम्लिछा, तेस्रो दिन ३ नं. को बाराहामा शिविर चलाइएको थियो । चौथो दिन ४ नं. वडाको बलम्ता र पाँचौ दिन ५ नं. वडा जाँतेमा शिविर सम्पन्न भएको अधिकृत लिम्बुले बताए ।  


गाउँगाउँमा सञ्चालित घुम्ती शिविरबाट ४४ जना अपाङ्गता भएका वडाबासीले परिचयपत्र प्राप्त गरेको महिला तथा बालबालिका शाखा, अपाङ्ग समन्वय समिति प्रमुख सुशिला लिम्बुले बताईन् । उनका अनुसार परिचयपत्र लिनेमा ‘क’ बर्गका ५ जना, ‘ख’ बर्गका २५, ‘ग’ बर्गका १२ र ‘घ’ बर्गका १० जना रहेका छन् । 


जिल्ला अपाङ्ग विकास संघ उदयपुरका सहजकर्ता शंकरनाथ पौडेलले शिविरमा सहजीकरण गरेका थिए । गाउँपालिका महिला तथा बालबालिका शाखा, अपाङ्ग समन्वय समिति, वडाध्यक्ष, सदस्य तथा महिला सदस्यलगायत जनप्रतिनिधि र कर्मचारीहरुले बिभिन्न बस्तीका अपाङ्गता वडाबासीलाई शिविरसम्म ल्याउने पुर्याउन सहयोग गरेको लिम्बुले बताईन् । 


वडा कार्यालयमै टोली परिचालन गरेर परिचयपत्र वितरण गरिदिएकोमा अपाङ्गता व्यक्ति र उनीहरुका अभिभावकले खुसी व्यक्त गरेका छन् । उनीहरुले गाउँपालिका र जनप्रतिनिधिप्रति आभार प्रकट गर्दै समयमै सामाजिक सुरक्षाभत्ता पनि उपलब्ध गराउन आग्रह गरेका छन् । आफ्नै वडाबाट सहज सेवा दिन शिविर सञ्चालन गरेकोमा जनप्रतिनिधिप्रति वडाबासीले आभार व्यक्त गरेका छन् ।