त्रियुगा खेलकुद महोत्सवको दोस्रो दिन कराते, तेक्वान्दो र बक्सिङ 

२0७७ फाल्गुन २५ मंगलवार
त्रियुगा खेलकुद महोत्सवको दोस्रो दिन कराते, तेक्वान्दो र बक्सिङ 

उदयपुर, फागुन २४


उदयपुर सदरमुकाम गाईघाटमा अघिल्लोदिनदेखि जारी ‘त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव ०७७’ का ८ मध्ये बिभिन्न ४ बिधाको खेल सकिएको छ । आईतबार उद्घाटनका दिन साईक्लिङको स्पर्धा सकिएको हो भने दोस्रो दिन सोमबार कराते, तेक्वान्दो र बक्सिङको स्पर्धा पनि सकिएको छ । 


आयोजक समितिका खेल संयोजक दिपक किरातीका अनुसार त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको प्रांगण र कभर्डहलमा सम्पन्न खेलमा करातेतर्फ वडा नं. १० प्रथम भएको छ । दोस्रो स्थान ६ नं. र तेस्रो ५ नं. वडाले लिएको कराते प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाशराम राईले बताए । राईका अनुसार करातेतर्फ बिभिन्न २० तौल समूहमा ८० खेलाडीको सहभागिता थियो ।


कराते, तेक्वान्दो र बक्सिङ सम्पन्न भएलगत्तै कभर्डहलमै व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । व्याडमिन्टनमा १७ वर्षमुनिका खेलाडीबीच खुल्ला (ओपन अण्डर–१७) र जोडीतर्फ खुल्ला तथा बयस्क (भेट्रान्स) तर्फ प्रतिस्पर्धा भईरहेको छ । १७ वर्षमुनिको खुल्लातर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् भने ९६ खेलाडीले खुल्लातर्फकै ४८ जोडीमा समावेश भएर प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै भेट्रान्सतर्फ १८ जनाले स्पर्धा गरिरहेको संयोजक किरातीले बताए । जम्मा १ सय ५५ खेलाडी व्याडमिन्टनतर्फ सहभागी रहेको आयोजक समितिले जनाएको छ । 


अघिल्लो दिन सम्पन्न साईक्लिङमा रुवेन राई प्रथम हुँदा केशव थापा दोस्रो र अवतार राई तेस्रो भएका छन् । त्यसैगरी महिलातर्फ लक्ष्मी मगर प्रथम, जमुना थापा दोस्रो र आसा लिम्बु तेस्रो भएको साझेदार संस्था नेपाल साईक्लिङ संघ उदयपुरका अध्यक्ष जितु रोईलाले बताएका छन् । पुरुष तथा महिलाबीच साईक्लिङ स्पर्धा त्रियुगा ११ को चप्पनक्षेत्रमा गराइएको थियो । 


उता त्रियुगा १३ स्थित थरुहट उदयपुर रंगशालामा उद्घाटनकै दिनदेखि सुरु फुटबलमा ६ वटा समूहले खेलिसकेका छन् । उद्घाटनका दिन त्रियुगा ११ वडा नंं ३ लाई टाईब्रेकरमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा वडा नं. ८ र १० सेमिफाईनल प्रवेश गरेका छन् । ८ नं. वडाले १५ नं. लाई शून्यका विरुद्ध ४ गोल गरेको थियो भने १० ले ७–० को गोल अन्तरले ९ लाई पराजित गरेर सेमिफाईनलको यात्रा तय गरेको जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले बताए । 


आउँदो फागुन २ गतेसम्म सञ्चालन हुने महोत्सवमा बिभिन्न ८ विधाका खेलकुदमा प्रतिस्पर्धा हुने आयोजक त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । उनका अनुसार फुटवल, भलिवल (महिला पुरुष दुवैतर्फ), क्रिकेट, साईक्लिङ, कराँते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टनमा प्रतिस्पर्धा हुने महोत्सवमा अव क्रिकेट र भलिबलको स्पर्धा बाँकी रहेको छ । व्याडमिन्टनको नतिजा मंगलबार आईसक्ने छ भने फुटबलको भने फाईनल खेल फागुन २ गते समापनका दिन हुने आयोजक समिति कार्यालय सचिव उदय राईले बताएका छन् ।