गाँजा किनबेच गर्ने महिलासहित ३ पक्राउ

२0७७ फाल्गुन २२ शनिबार
गाँजा किनबेच गर्ने महिलासहित ३ पक्राउ

गाईघाट, फागुन २२


सदरमुकाम गाईघाटस्थित तरकारी बजारबाट ४ सय ग्राम गाँजासहित एक महिला र २ पुरुष पक्राउ परेका छन् । तरकारी बजारकी मसला व्यापारी २५ वर्षीया प्रमिला सहनी आफ्नै पसलबाट गाँजासहित सिराहाको लाहानका दुईजनासहित पक्राउ परेकी हुन् । 


त्रियुगा १३ स्थित हवाईफिल्डमा गाँजाको कारोबार भईरहेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरीबाट खटेको विशेष टोलीले शुक्रबार साँझ ७ः३० बजे प्रमिला, लाहान नगरपालिका १७ स्थायी घर भई हाल त्रियुगा ११ मै बस्दै आएका ५५ वर्षीय राजकुमार सहनी र २० वर्षीय लक्ष्मण सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


४ सय ग्राम गाँजासहित पक्राउ उनीहरुलाई हरासतमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् ।