बिप्लव कपिल्बस्तुमा सार्बजनिक, सहिद परिवारलाई भेटेर सोझै काठमाडौं

२0७७ फाल्गुन २१ शुक्रबार
बिप्लव कपिल्बस्तुमा सार्बजनिक, सहिद परिवारलाई भेटेर सोझै काठमाडौं

उदयपुर, फागुन २१

सरकारसँग ३ चरणको वार्ता ३ बुँदे सहमतिमा टुंगिएसँगै प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द (बिप्लव) सार्वजनिक भएका छन् । वार्ता टंगिएलगत्तै प्रतिबन्ध फुकुवा र कार्यकर्ता रिहा हुने सरकारी निर्णयसँगै शुक्रबार बिप्लव पूर्वी नवलपरासीको नवलपुरमा सार्वजनिक भएर काठमाडौं आउँदैछन् ।


नवलपुरको अवरावतीस्थित बेलबहादुर सारुमगरको घरमा बसेर स्थानीय सहिद परिवारसँग भेटघाट गरेपछि उनलाई प्रहरी सुरक्षासहित काठमाडौं ल्याइदै गरेको गृह मन्त्रालयस्रोतले जनाएको छ । काठमाडौंमा प्रधानमन्त्री केपी ओली र बिप्लव दुवैले सँगै दिउसो २ः०० बजे सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन उनी राजधानी हिडेको बताइएको छ । 

हिजो वार्ता टुंगिएपछि ओली र बिप्लवले सँगै सम्बोधन गर्ने तथा वार्तामा भएको सहमतिको विस्तृत विवरण त्यही सार्वजनिक गर्ने दुवैपक्षबीच सहमति भएको थियो । २ वर्षअघि ०७५ फागुन २७ गते ओली सरकारले उनको पार्टीमाथि प्रतिबन्ध लगाएदेखि उनी अद्र्धभूमिगत थिए । 


प्रतिबन्धपछि सरकारले बिप्लव नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्दे जेल हाल्दै आएको थियो । अहिले देशभर उनका १ सय ४४ नेता कार्यकर्ता देशका बिभिन्न कारागारमा पुर्पक्षका लागि थुनामा छन् भने कतिपय प्रहरी हिरासतमै अनुसन्धानको क्रममा थुनिएका छन् । 


बिप्लव र ओलीले अहिले २ः०० बजे राष्ट्रिय सभागृहमा संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममार्फत दुईपक्षबीच भएको वार्ताको विस्तृत बिबरणसमेत सार्वजनिक गरिनेछ । बिप्लबको पार्टीलाई सरकारमा सहभागी गराउने संभावनासमेत रहेको बताइएको छ ।