तेस्रो चरणमा उदयपुरमा ४५ हजारले कोविड खोप पाउने

२0७७ फाल्गुन २१ शुक्रबार
तेस्रो चरणमा उदयपुरमा ४५ हजारले कोविड खोप पाउने


उदयपुर, फागुन २१

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले तेस्रो चरणमा ४५ हजारलाई खोप दिने तयारी गरेको छ । पहिलो र दोस्रो चरण्मा २ हजार ३ सयलाई खोप दिइसकेको स्वास्थ्यले फागुन २३ गतेदेखि चलाउने तेस्रो चरणको अभियानमा ४५ हजारलाई खोप दिने जनाएको छ । 

तेस्रो चरणको खोप अभियानका लागि आवश्यक तयारी पुरा भईसकेको जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीले बताए । उनका अनुसार अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका सबै स्वास्थ्य चौकी तथा मातहत खोपकेन्द्रबाट अभियान चलाउन तालिम सम्पन्न भईसकेको छ । 


मंगलबार र बुधबार जिल्लाको चौदण्डीगढी नगरपालिकाका बेलटार, कटारी, र रौतामाईो मुर्कुचीमा एकैचोटी तयारी तालिम सम्पन्न भएको छ । बेलटारमा आयोजित तालिममा चौदण्डीगढी र बेलका नगरपालिकाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ भने मुर्कुचीमा रौतामाई र उदयपुरगढी गाउँपालिका तथा कटारीमा कटारी नगरपालिकाका १४ वडाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको सुबेदीले बताए । 


त्यसैगरी लिमचुङबुङ गाउँपालिका र त्रियुगा नगरपालिकाका स्वास्थ्यकर्मीलाई बिहीबार तालिम दिइएको छ । योसँगै सबै पालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएकाले पत्रकार सम्मेलन गरी खोप अभियानको तालिका सार्वजनिक गर्ने तयारी भईरहेको स्वास्थ्यले जनाएको छ । २३ गतेदेखि सबै स्थानीयतहमा तेस्रो चरणको खोप अभियान चलाइनेछ । 


सरकारले कोविडविरुद्ध ३ चरणमा चलाउने खोप अभियान अनुसार यसअघि दुई चरण सकिएको र अव तेस्रो चरण सुरु हुन लागेको हो । कोविडविरुद्ध अग्रपंतिमा खट्ने स्वास्थ्यकर्मीदेखि सर्वसाधारणसम्मलाई १६ बर्गमा बर्गीकृत गरेर खोप दिइदैछ । पहिलो चरणमा सरकारी तथा नीजि अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थाका कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविका, सरसफाई कर्मचारी तथा एम्बुलेन्स र शबबाहन चालक र सब व्यवस्थापनकर्मीलाई खोप दिइएको थियो । 


दोस्रो चरणमा पत्रकार, बृद्धाश्रममा बस्ने व्यक्ति र हेरचाहमा खट्ने कर्मचारी, कैदीबन्दी र त्यसमा खट्ने कर्मचारी तथा सुरक्षाकर्मी, अन्तराष्ट्रिय प्रवेशद्वारमा खट्ने कर्मचारीलाई खोप दिइनको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले बताए । तेस्रो चरणमा ७५ वर्षमाथिका जेष्ठ नागरिक, ५५ देखि ७४ सम्मका दीर्घरोगी, ४० देखि ५४ वर्षसम्मका वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति तथा शरणार्थी तथा अन्तिम बर्गका १८ देखि ३९ वर्षसम्मका नागरिकलाई पनि यही चरणमा खोप दिइने निरौलाले बताएका छन् । 


यसअघि जिल्ला अस्पताल, कटारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमार्फत खोप अभियान चलाइएकोमा तेस्रो चरणमा सबै स्वास्थ्य चौकी र खोपकेन्द्रबाट खोप दिइनेछ । जसका लागि जिल्ला २ अस्पताल, १ प्राथमिक स्वास्थ्य केन्द्र र ४७ वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई परिचालन गर्न तालिम दिइएको निरौलाले बताए ।