चोरेर बेच्न लगेका ४ बाख्रासहित पक्राउ

२0७७ फाल्गुन २0 बिहीबार
चोरेर बेच्न लगेका ४ बाख्रासहित पक्राउ

उदयपुर, फागुन २०


बाख्रा चोरेर बेच्न लगेको अवस्थामा उदयपुरकरा एक अभियुक्त पक्राउ परेका छन् । ४ वटा बाख्रा चोरेर त्रियुगा नगरपालिका १० बोक्सेस्थित खसी बजारमा बेच्न लगेका रौतामाई गाउँपालिका ३ लाफागाउँका निरबहादुर कार्की चोरीका बाख्रासहित पक्राउ परेका हुन् । 


त्रियुगा नगरपालिका १५ मा रहेका बिष्णुकुमार केसीको बाख्रा पालन फारामबाट गत १५ गते हराएका ४ वटा बाख्रा बेच्न लगेका बेला प्रहरीले कार्कीलाई पक्राउ गरेको जनाएको छ । कार्की त्रियुगा नगरपालका ४ फर्सेटस्थित सगरमाथा ड्राई फुड एण्ड मिट हाउसमा काम गर्दै आएका मजदुर भएको प्रहरीले जनाएको छ ।    

 

बाख्रा हराएको भन्दै केसीले दिएको उजुरीका आधारमा खोजी गर्दै जाने क्रममा खसी बजार पुगेको प्रहरीले चोरीका बाख्रासहित कार्कीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । १५ गते विहान ११ः०० बजे फारामबाट ४ वटा बाख्रा हराएपछि केसीले प्रहरी गुहारेका थिए । 


उनको उजुरीका आधारमा विशेष टोली खटाएर बाख्रा खोजी गर्ने क्रममा कार्कीलाई रंगेहात पक्रन सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । उनलाई बाख्रासहित जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।