सरकार-बिप्लब वार्ता सकियो, प्रतिबन्ध फुकुवा, पक्राउ सबै छाडिने

२0७७ फाल्गुन २0 बिहीबार
सरकार-बिप्लब वार्ता सकियो, प्रतिबन्ध फुकुवा, पक्राउ सबै छाडिने

उदयपुर

नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाबीच ३ बुँँदे सहमित भएको छ । अघिल्लो दिन विहान र बेलुका तथा बिहीबार विहान भएको ३ चरणको वार्ताबाट दुईबीच ३ बुँदे सहमति गर्दै  वार्ता सकिएको हो । 


सहमतिसँगै यसअघि प्रतिबन्धित रहेको विप्लव समूह शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने भएको छ । वार्ता निश्कर्षमा पुगेसँगै विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध सरकारले आजैदेखि हटाएको छ। यो सँगै सरकारले यसअघि बिभिन्न आरोपमा पक्राउ गरी जेलमा राखेका विप्लव समूहका सम्पूर्ण नेता कार्यकर्तामाथिको मुद्धा खारेजी गर्दै रिहार्इ गर्ने भएको छ।   


गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वको वार्ता समितिसँग विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजकत्वको टोलीले बुधबार विहानदेखि वार्ता गरेको थियो । सुरुमा अज्ञातस्थलमा वार्ता गरेको भनिए पनि प्रधानमन्त्री निवास बालुवाटारमै वार्ता भएर सहमति भएको सरकारले जनाएको छ । 


सरकारले ०७५ फागुन २८ गते बिप्लव नेतृत्वको नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाउँदै देशभर धरपकड गर्न थालेको थियो । सरकारले एनसेल टावरलगायत बिभिन्न ठाउँमा बम विष्फोट, ज्यान मार्ने उद्योग, आगजनी तथा अपहरणजस्ता आरोपमा बिप्लवका १ सय ३४ नेता कार्यकर्तालाई पक्राउ गरी देशभरका बिभिन्न कारागारमा थुनामा राखेको छ । वार्ता सफल भएसँगै अव उनीहरु सबै छाडिनेछन् ।  

 

सरकारले बिप्लब समूहलाई ३ मन्त्रालय दिएर सरकारमा सहभागी गराउने पनि स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गरेकोमा सर्वाेच्च अदालतले फागुन ११ गते संसद पुनस्र्थापनाको फैसला गरेको छ । फैसलासँगै प्रचण्ड-माधव (प्रमा) समूहले ओलीमाथि कारबाही गर्दै अर्को सरकार बनाउने प्रयास गरिरहेका बेला सरकारले बिप्लबमाथि प्रतिबन्ध हटाएर सरकारमा ल्याउनेगरी वार्ता थालेको थियो ।