सरकार-बिप्लव वार्ता सुरु

२0७७ फाल्गुन १९ बुधबार
सरकार-बिप्लव वार्ता सुरु

उदयपुर

 

नेपाल सरकारले नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको प्रतिबन्धित समूह नेकपासँग वार्ता गरेको छ । झण्डै दुईतिहाई बहुमतको सरकार चलाईरहेका प्रधानमन्त्री केपी ओलीले अचानक संसद बिघटन गरेपछि अप्ठेरोमा परेपछि बिप्लवसँग वार्ता गर्ने बताएका थिए । 


पुस ५ गते बिघटन गरेको संसद फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गरेसँगै धर्मरिएको सरकारको आयु लम्ब्याउन प्रधानमन्त्री ओलीले बिप्लवसँग वार्ता गर्ने जाँगर चलाएको राजनीतिक बृत्तमा चर्चाछ । वार्ता गर्नका लागि अघिल्लो दिन मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल' नेतृत्वमा दुईसदस्यीय वार्ता समिति गठन गरेको थियो । सोही समितिले पहिलो चरणको औपचारिक वार्ता सुरु गरेको हो ।


जस अनुसार गृहमन्त्री थापा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राजन भट्टराई तथा बिप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र उदय चलाउने 'दिपक' सहभागी टोलीले बुधबार विहान पहिलो चरणको वार्ता राजधानीको अज्ञातस्थलमा गरेको जनाइएको छ । 


गृहमन्त्रालय स्रोतका अनुसार पहिलो चरणको वार्ता छोटो रुपमा भएको छ । अर्को चरणको वार्ता कहिले गर्ने भन्ने टुंगो लगाएर सकिएको वार्तामा पार्टीलाई प्रतिबन्ध फुकुवा गर्ने तथा देशका बिभिन्न ठाउँमा झुटा मुद्धामा थुनामा रहेका नेता कार्यकर्तालाई छाड्ने विषयमा द्वीपक्षीय छलफल भएको स्रोतको दावी छ । 


तत्कालीन नेकपा माओबादीको जनयुद्धताका डेपुटी कमाण्डर रहेका बिप्लव पार्टी फुटेपछि मोहन बैद्य किरण नेतृत्वको नेकपा माओबादीमा लागेका थिए । तर, त्यसको केही समयपछि आफै महासचिव भएर नेकपा गठन गरेर आन्दोलन गर्दै आएका छन् । स्थापनाकालदेखि नै संसदीय चुनावको विरोधमा निर्वाचन वहिस्कार गर्दै आएको उनको पार्टीमाथि ०७५ फागुनमा ओली सरकारले नै प्रतिबन्ध लगाएको थियो । 


पार्टीमाथि प्रतिबन्ध लागेपछि दर्जनौं नेता कार्यकर्तालाई सरकारले पक्राउ गर्दै झुटा मुद्धाको आरोपमा जेल हाल्दै आएको पार्टीको दावी छ ।