३
२0७७ फाल्गुन १८ मंगलवारउदयपर
पेट्रोलियम पदार्थमा बदमासी गर्ने झण्डै हजार ट्यांकरमाथि नेपाल आयल निगमले कारबाही गरेको छ । इन्धन ढुवानी गर्ने सम्झौता गरे अनुसार काम नगरेको पाइएपछि त्यस्ता ट्यांकरमाथि निगमले कारबाही गरेको हो ।
इन्धन ढुवानी गर्दा लकिङ तथा फिटिङमा बदमासी गर्ने ट्रक तथा ट्यांकरलाई सजायस्वरुप कारवाही गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । उनका अनुसार पछिल्लो ३ महिनायता सम्झौता बमोजिम काम नगर्ने १ नं प्रदेशका ५३ ट्यांकरमाथि कारबाही गरिएको छ ।
लकिङ र फिटिङ चेक गर्दा गलत तरिकाले पाइपलाइन ट्याङ्कीमा जडान गरेको पाएपछि प्रादेशिक कार्यालय विराटनगरले ५३ ट्रक तथा ट्याङ्करलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको पौडेलले बताए । कारबाही स्वरुप त्यस्ता ट्यांकर तथा ट्रकलाई ३ महिनासम्म इन्धन ढुवानीमा रोक लगाइएको छ ।
२ नं. प्रदेशमा पनि पछिल्लो ३ महिनाभित्र १ सय ५० ट्रक तथा ट्यांकर कारवाहीमा परेका छन् । त्यहाँ भने १५ दिनसम्म ढुवानी गर्न नपाउने गरी कारबाही गरिएको २ नं. प्रादेशिक कार्यालयलाई उद्धृत गर्दै कार्यकारी निर्देशक पौडेलले बताए ।
ट्यांकर तथा ट्रक मात्र नभएर ५ जना चालक तथा सहचालक पनि कारबाहीमा परेका छन् । उनीहरुमाथि कालोबजारी मुद्दा चलाइएको निगमले बताएको छ । उनीहरुले जीवनभर निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी कारबाही गरिएको छ । निगमको अनुगमनमा इन्धनमा मिसावट तथा चोरी गर्ने ५ ट्यांकरलाई ६ महिनाका लागि ढुवानी गर्न नपाउने गरी निलम्बन गरिएको छ ।
पछिल्लो ३ महिनामा पेट्रोलियम पदार्थमा अनियमितता गर्ने ३ सय ट्यांकर तथा ट्रकमाथि पनि निगमले कारवाही चलाएको छ । ती ट्रक तथा ट्यांकरबाट जरिवानावापत निगमले १० हजार रुपंया संकलन गरेको जनाएको छ ।
कार्यकारी निर्देशक पौडेलले निगम सुधारको रणनीति अन्तर्गत सम्झौतामा उल्लेखित मापदण्ड पालना नगर्ने सवारीसाधनमाथि कारबाही थालिएको बताए । निगमसँग भएको सम्झौता पालना नगर्ने, उपभोक्ता ठग्ने, कृतिम अभाव र कालोबजारी गर्नेमाथि निगम निर्मम भएर प्रस्तुत हुने उनले बताए ।
पौडेलका अनुसार यस्तो कारबाही निगमको इतिहासमा पहिलो र सबभन्दा ठूलो हो । निगमले चालेको यस्तो कदमबाट ढुवानीकर्तालाई गैरकानूनी काम गर्न निरुत्साहित गर्ने अपेक्षा लिइएको छ । यो कदमले उपभोक्तालाई फाईदा पुग्नुका साथै निगमलाई पारदर्शी तथा सुधारतर्फ अग्रसर गर्ने विश्वास लिइएको पौडेलले बताएका छन् ।