काठका पर्निचर र ट्याक्टरसहित २ पक्राउ

२0७७ फाल्गुन १७ सोमबार
काठका पर्निचर र ट्याक्टरसहित २ पक्राउ

बेलका, फागुन १७


तयारी काठका फर्निचर र ट्याक्टरसहित उदयपुरको बेलका नगरपालिकाबाट सुनसरीकी एक महिला र चालक पक्राउ परेका छन् । अवैध काठको तयारी फर्निचर बेलकाबाट सुनसरीतर्फ लाँदै गरेको अवस्थामा आईतबार साँझ ६ः०० बजे काठ र मानिस प्रहरी नियन्त्रणमा परेका हुन् । 


बेलका नगरपालिका ९ जरायोखोलास्थित मदन भण्डारी लोकमार्ग भएर पूर्वतर्फ जाँदै गरेको स १ त ७९१६ नं. को ट्याक्टरमा लाँदै गरेको काठसहित पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका २ बयरवनकी ३६ वर्षीया धनु राई र चालक बेलका ९ का २४ वर्षीय कृष्णबहादुर शाही ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले पक्राउ गरेको ट्याक्टरमा सालका काठबाट बनाइएको १ थान लो बेड, १ थान बक्स पलङ, १ थान आराम कुर्सी र १ थान बेन्च रहेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार काठका फर्निचर तयारी अवस्थामा लाँदै गरेको भेटिए पनि त्यसको कानुनी आधार नखुलेकाले अवैध ठहर गर्दै नियन्त्रणमा लिइएको छ । 


पक्राउ सामग्री र व्यक्तिबारे प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीका लागि सब डिभिजन कार्यालय रामपुर ठोक्शीलामा बुझाइएको छ । बरामद काठ लगभग १ लाख रुपैंया बराबरको रहेको एसपी दाहालले बताएका छन् ।