'प्रदेश १ हर्न निशेध' अभियान सुरु, हर्न बजाए १५०० जरिवाना

२0७७ फाल्गुन ११ मंगलवार
'प्रदेश १ हर्न निशेध' अभियान सुरु, हर्न बजाए १५०० जरिवाना

ध्वनि प्रदुषण रोक्न हर्न निशेध अभियान
उदयपुर, फागुन १०


उदयपुर ट्राफिक कार्यालयले सवारी साधनलाई हर्न निशेध अभियान सुरु गरेको छ । ध्वनि प्रदुषण रोकेर वातावरण बचाउने उदेश्यले प्रदेश सरकारको निर्देशनमा सदरमुकाम गाईघाट, कटारी, चौदण्डीगढीको बेलटार, बेलकाको रामपुर, रौतामाईको मुर्कुचीलगायत नगर र बजारोन्मुख क्षेत्रका सडकमा हर्न बजाउन निशेध अभियान थालिएको हो । 


जनघनत्व तथा सहरीकरण र सवारी साधनको संख्यामा तिब्र बृद्धिसँगै बढ्दो दुर्घटना रोक्ने उदेश्यले हर्न निशेध अभियान थालिएको ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । ध्वनि प्रदुषण र ट्राफिक व्यवस्थापनमा समस्या आउन नदिन हर्न निशेध अभियान थालिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक (सई) कमल कार्कीले बताए । 


हर्न निशेध अभियानको सुरुवात सोमबार विहान ११ः०० बजे गाईघाटस्थित त्रियुगा बसपार्कका सवारी साधनलाई सचेतना जगाउँदै थालनी गरियो । सई कार्की नेतृत्वको ट्राफिक टोलीले बसपार्कमा आएका बिभिन्न सवारी साधनका चालकलाई हात जोडेर सचेतना जगाउँदै अनावश्यक रुपमा हर्न नबजाईदिन आग्रह गरेको थियो । 


सो क्रममा बसपार्कमा आएका दर्जनौं बस, टिफर, ट्रक, ट्याक्टर र जीप भेनलगायत साना ठूला सवारी साधन चालकलाई ट्राफिक प्रहरीले हर्न बजाउदा हुने प्रदुषण, मानसिक हानी नोक्सानी र नकारात्मक प्रभावबारे जानकारी गराएका थिए । ट्राफिकहरुले घुम्ती सडक, सवारीको अत्याधिक भिडभाड, मान्छे किच्ने अवस्था आईपर्दा बाहेक हर्न नबजाउन आग्रह गरेका थिए । 


गाईघाटसँगै कटारी, बेलसोत, बेलटार, रामपुरमा पनि ट्राफिकले हर्न निशेधको अभियान थालेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । चालक र सहचालकलाई हरेक युनिटका ट्राफिक पोस्टले हर्न निशेध अभियानबारे सचेत गराएका थिए । अभियानको बर्खिलाप गरेर हर्न बजाएको पाइएमा त्यस्ता चालकमाथि सवारी तथा यातायात ऐन अनुसार ५ सयदेखि १ हजार ५ सय रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुने सई कार्कीले बताए । 


प्रदेश ट्राफिक कार्यालयको निदेर्शन अनुसार उदयपुरका सबै युनिटबाट अभियानको थालनी र्भएको जिल्ला ट्राफिक उदयपुरका जवान भुवन राईले बताए । उनका अनुसार उदयपुर मात्र नभएर प्रदेश १ का १४ वटै जिल्लाका ९२ वटा युनिटका ट्राफिकले एकैदिन हर्न निशेध अभियानको थालनी गरेका छन् । 


‘हर्न निशेध अभियान प्रदेश १ का १४ वटै जिल्लामा सोमबार एकैदिनदेखि लागु गरिएको हो’ ट्राफिक जवान राईले भने ‘जस अनुसार उदयपुरका सबै युनिटले अभियानको थालनी गरेको छ ।’ उनका अनुसार संभावित दुर्घटनाग्रस्त क्षेत्र र अत्याधिक सवारी चाप हुने ठाउँमा हर्न निशेध गर्ने सन्देशमुलक होर्डिङ बोर्डहरु पनि राखेको छ । 


उसो त प्रदेश १ मा झण्डै ३ वर्षऋघि नै हर्न निशेष कार्यक्र अघि सारिएको थियो । प्रहरी प्रधान कार्यालयको निर्देशनमा ०७४ असोज १ गतेदेखि सुरु भएको हर्न निषेध कार्यक्रमलाई देशभर कार्यान्वयनमा लैजान खोजे पनि त्यसविरुद्ध उच्च अदालत विराटनगरमा मुद्धा परेको थियो। ०७६ जेठ १४ गते अदालतले उक्त रिट खारेज गरेपछि हर्न निदेश अभियान कार्यान्वयन गर्ने बाटो खुलेको थियो ।