उदयपुरको पोखरीमा आगलागीबाट १६ लाख नोक्सान

२0७७ फाल्गुन १0 सोमबार
उदयपुरको पोखरीमा आगलागीबाट १६ लाख नोक्सान

उदयपुर, फागुन १०


रौतामाई गाउँपालिका ४ पोखरीको आहालेमा हिजो अचानक भएको आगलागीबाट कमल राईको १६ लाख बराबरको धनमाल नोक्सान भएको छ । आईतबार विहान ११ः०० बजे एक्कासी लागेको आगोले राईका दुईवटा खरको छानावाल घर र मतान जल्दा क्षति भएको हो । 


घर र मतान जल्दा त्यसभित्र रहेका सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, कागजात र काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ भने गोठमा लागेको आगोले दुईवटा भैंसीमध्ये एउटा जलेर मरेको तथा एउटा सुँगुर पनि जलेर मरेको छ । आधा जलेको अवस्थमा एउटा भैंसी चाहीँ दाम्लो चुँडाएर बाँचेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


घट्नाबारे खवर पाएलगत्तै इलाका प्रहरी कार्यालय भुटारबाट खटेको टोलीले स्थानीयसँग मिलेर साँझ ६ः०० बजे मात्र आगो नियन्त्रणमा ल्याएको बताइएको छ । घट्नास्थलको सर्जमिन मुचुल्का गरेर प्रहरी टोली सोमबार विहान सदरमुकाम फर्किसकेको छ ।


आगलागीको घट्ना कसरी भयो भन्ने यकिन नभएकाले आवश्यक अनुसन्धान सुरु भएको छ । घर जलेपछि खुला आकाशमुनि बस्न बाध्य पीडित परिवारलाई छिमेकीको शरणमा बस्ने व्यवस्था मिलाई आवश्यक राहतको जोहो गर्न लागिएको गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले बताएका छन् ।