जाल्पाका कांग्रेसका ३४ सहित ३९ कार्यकर्ता नेकपामा प्रवेश

२0७७ फाल्गुन ६ बिहीबार
जाल्पाका कांग्रेसका ३४ सहित ३९ कार्यकर्ता नेकपामा प्रवेश

जाँते बेलदोभान 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दै पार्टी फुटाएपछि सडक आन्दोलनमा रहेको नेकपा प्रचण्ड-माधव (प्रमा) समूहमा बिभिन्न दल छाडेर एकाकार हुने क्रम बढेको छ । यसै सन्दर्भमा त्रियुगा नगरपालिका १६ नं. वडामा नेपाली कांग्रेस, माक्र्सबादी र राप्रपा छाडेर ३९ जना प्रवेश गरेका छन् ।


पार्टी प्रवेश गर्नेमातत्कालीन पञ्चायतकालका साविक जाल्पाचिलाउनेमा लगातार ३५ वर्षसम्म वडाध्यक्ष, उपप्रधानपञ्च र प्रधानपञ्च भई बहुदल सुरु भएदेखि कांग्रेसमा आबद्ध बमबहादुर राईसहित छन् । राईको नेतृत्वमा नेकपा प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका वडा उपसभापति लिलबहादुर राईसहित ३४, माक्र्सबादीका जिल्ला सदस्य बुद्धिबहादुर मगर र बाँकी राप्रपाका कार्यकर्ता रहेका छन् । 


नेकपा वडा कमिटी अध्यक्ष उपेन्द्र रखालमगरका अनुसार बुधबार वडाको जाँतेमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव सुरेशकुमार राई (हिमाल), केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी र जिल्ला सचिवालय सदस्य किरण राईले अविर माला लगाउँदै स्वागत गरे । 

 


नेकपा प्रदेश सदस्य, जिल्ला सदस्य तथा नगर कमिटीमा आबद्ध नेताहरुको उपस्थितिमा प्रवेश कार्यक्रममा नवप्रवेशीको तर्फबाट बोल्दै लिलबहादुर राई र दिलनारायण श्रेष्ठले परिवर्तित राजनीतिक अवस्थामा नेपाली कांग्रेसमा बसेर देश र समाजमा कुनै परिवर्तन आउन नसक्ने देखेर नेकपामा प्रवेश गरेको बताए । उनीहरुले देश र जनताको विकास र समृद्धिमा पूर्णरुपमा लाग्दै आएको नेकपा र त्यसमा आबद्ध कार्यकर्ता र जनप्रतिनिधिसँग मिलेर समाज सुधार र गाउँ विकासमा लाग्न आफुहरु नेकपामा प्रवेश गरेको बताए । 


लामो समयदेखिका पूर्व जनप्रतिनिधि बमबहादुर राईले आफु ४ दशकबढी समयदेखि  कांंग्रेससमा राजनीति गर्दै आए पनि समाजलाई परिर्तन गर्ने कुरामा कहिल्यै कांग्रेस अघि बढेको नपाएको तथा सदरमुकाममा बस्दै आएका सीमित छोटे नेताहरुले गाउँको नाम गरेर पार्टी भँजाएको हुनाले निराश भएर नेकपा प्रवेश गरेको बताए । 

 


नवप्रवेशीहरुलाई स्वागत गर्दै संघीय सांसदसमेत रहेका केन्द्रीय सदस्य तथा प्रदेश सचिव सुरेशकुमार राई (हिमाल) ले देश र जनतालाई कोरोना र केपी ओलीले दुःख दिएको बताए । दुईतिहाई नजिक बहुमतले चुनाव जितेर देशमा समृद्धि हासिल गर्नेगरी विकास निर्माण गर्ने बेलामा ओलीले संसद विघटन गरेर जनताको अभिमतविरोधी कदम चालेको भन्दै नेता राईले अव गाउँगाउँका जनता र पार्टी कार्यकर्ता एक भएर ओली प्रबृत्तिको विरुद्ध आन्दोलित हुन आग्रह गरे् । 


नेकपाले देशमा विकास र समृद्धि ल्याउनेगरी जनप्रतिनिधि र पार्टी नेता कार्यकर्तालाई परिचालन गरिरहेका बेला कोरोनाले समस्या पारेको र ८ महिनापछि कोरोना पराजित भए पनि अहिले कोपी ओलीले फेरि कोरोनाजस्तै समस्या थपेको बताए । ''नेपालमा पहिले 'कपुरी क'को कोरोनाले हामीलाई दुःख दियो नेता राईले भने अहिले फेरि अर्को 'क' को केपी ओलीले दुःख दिदैछ'' नेता राईले भने ''अव हामी सबै मिलेर यो कोरोनाजस्तै केपी ओलीलाई परास्त गर्नुपर्छ ।''


नेता राईले अहिले देशका ७७ जिल्लामै बाल संगठन गठन गरेर सरकारले पञ्चायतको भुत व्युँताएको बताए । पञ्चायतकालमा बडामहारानी ऐश्वर्यले आफ्नो स्तुति गानका लागि देशभरी बाल संगठन गठन गरेर बालबालिकालाई दुरुपयोग गरेको भन्दै राईले अहिले त्यसैगरी अर्की बडामहारानीले पञ्चायतलाई सम्झाउँदै बाल संगठन व्युँताउनु दुःखद भएको बताए । 


शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संसदको शिक्षा समिति सभापति ओनसरी घर्ती र सदस्य आफुलाई कुनै जानकारी नदिइ बाल संगठन व्युँताउनु पञ्चायतकै अर्को रुप भएको उनको भनाई थियो । बाल संगन अवैधानिक भएकाले त्यसलाई नमान्न आग्रह गर्दै उनले संगठनमा बसेका पदाधिकारीको कुनै हैसियत नहुने बताए ।