जाँते सिद्रेमा आधारभूत स्वास्थ्य केन्द्र भवन 

२0७७ फाल्गुन ५ बुधबार
जाँते सिद्रेमा आधारभूत स्वास्थ्य केन्द्र भवन 

बेलदोभान

सदरमुकाम नजिक भए पनि सेवा सुविधाको हिसावले पिछडिएको त्रियुगा नगरपालिका १६ को जाँतेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । वडाबासी जनतालाई गाईघाटसम्म गएरभन्दा स्थानीयले आप्mनै ठाउँबाट सहज सेवा पाउन् भन्ने उदेश्यले नयाँ भवन बनाएर आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न थालिएको हो । 


नगरपालिका, वडा कार्यालय र स्थानीय सरस्वति सामुदायिक वन उपभोक्ता समूह जाँतेको सहयोगमा निर्मित भवनमा स्थानीय जनताले १० लाख बढीको श्रमदान सहयोग गरेको त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राईले बताए । उनका अनुसार गाईघाटदेखि साढे ८ किलोमिटर मात्र टाढा भए पनि सडक स्तरोन्नति नभएका कारण आउजाउ गर्न समस्या भएकाले स्थानीयबासीलाई सहज स्वास्थ्य सेवा दिलाउन केन्द्र सञ्चालनमा ल्याइएको हो । 

 


आप्mनै घरआँगनमा जनतालाई स्वास्थ्य सेवा दिलाउन वडा कार्यालयले नगरपालिका, वन समूह र स्थानीयसँग जुटेर सर्वपक्षीय सहभागितामा भवन बनाएर सेवा सुरु गरेको वडाध्यक्ष राईले बताए । राईका अनसार टिन (जस्ता)को छाना भएको ३ कोठे पक्की भवन बनाउन वडाबाट ३ लाख खर्च भएको छ भने बाँकी सहयोग सामुदायिक वन र स्थानीयले श्रमदान गरेका छन् । 


झण्डै २० लाख लागतमूल्य बराबरको उक्त भवन सकिएलगत्तै बुधबारदेखि स्वास्थ्य सेवा सुचारु गरिएको छ । नवनिर्मित भवनको बुधबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल) र त्रियुगा नगरप्रमुख बलदेव चौधरीले उद्घाटन गरे । भवन उद्घाटनपछि प्रमुख अतिथि सांसद राई, विशेष अतिथि मेयर चौधरी, अतिथिहरु पत्रकार महेश्वर चामलिङ, त्रियुगा १४ का वडाध्यक्ष कुरुङ राईलगायतले स्वास्थ्य जाँच गराएका थिए । 


स्वास्थ्य सेवा सुरु गरेको पहिलो दिन ५४ जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएको केन्द्रका इन्चार्ज स्वास्थ्य सहायक (एचए) जितेन्द्रकुमार महतोले बताए । उनका अनुसार बिभिन्न उमेर समूहका ३८ पुरुष र बाँकी महिलाले स्वास्थ्य जाँच गराएका छन् । उनले आगामी दिनमा विहान १०ः०० देखि बेलुका ५ः०० वजेसम्म स्वास्थ्य सेवा प्रदान गर्नेगरी स्वास्थ्यकर्मी खट्ने बताएका छन् । 


१६ नं. रौतामाई गाउँपालिका ७ मुर्कुचीनजिक सुकौरादेखि त्रियुगा १४ साउने र १५ को खाँबुसँग सीमा जोडिएको सबभन्दा ठूलो भौगोलिक क्षेत्रफल भएको वडा हो । भूगोल ठूलो भएकाले वडा केन्द्र रहेको जाल्पाचिलाउनेस्थित स्वास्थ्य चौकीबाट सबै वडाबासीले स्वास्थ्य सेवा दिन असहज भएकाले जाँतेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष राईले बताए । 


केन्द्रमा स्थानीयलाई सबैखाले प्राथमिक स्वास्थ्य सेवा दिनका लागि एचए महतो र स्टाफ नर्स सुनिता राईलाई खटाइएको छ । सो सेवा केन्द्रबाट जाँते, सिद्रे, आम्बोटे, डिगटार, सालथुम्की, बगरटोल, सिम्ले र छिमेकी १४ र १५ नं. वडाका केही गाउँबस्तीका ४ सय घरधुरी हाराहारी स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउनेछन् । 


भवन उद्घाटन गर्दै सांसद राईले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएर स्थानीयतहहरु बनेपछि गाउँगाउँमा विकास निर्माणका कामहरु भएको बताए । स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, विद्युतजस्ता सबै खाले विकास निर्माण गाउँगाउँमा पु¥याउने लक्ष्यका साथ नेकपाले झण्डै २ तिहाई बहुमतको सरकार गठन गरे पनि प्रधानमन्त्री केपी ओलीको बदमासीले जनताले दुःख पाउनुपरेको नेकपा प्रदेश १ का सचिवसमेत रहेका राईले बताए । 


बहुमतको सरकार चलाएर देशमा विकास र समृद्धि ल्याउनुपर्ने प्रधानमन्त्री ओलीले सनकको भरमा संसद विघटन गरेर देश र जनतामाथि ठूलो धोका दिएको भन्दै त्यस्तो गलत रवैयाको विरुद्ध तमाम जनता एकजुट भएर ओली प्रबृत्तिको विरोध गर्नुपर्ने बताए । उनले सांसद, मेयर, वडाध्यक्षलगायत जनप्रतिनिधिले विकासको बाढी ल्याउन खोजेका बेला पहिले कोरोनाले र अहिले केपी ओलीले बाधा खडा गरेको भन्दै सबै मिलेर कोरोनालाईजस्तै केपी ओलीलाई पनि परास्त गर्न आव्हान गरे । 


कार्यक्रममा मेयर बलदेव चौधरीले नरपालिका भए पनि पिछडिएको ठाउँ भएको जाँतेका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरी स्वास्थ्यकर्मी खटाएर सेवा सुचारु गरिएको बताए । उनले बेलदोभानदेखि जाँते हुँदै सिद्रे, डहर भएरु रौता जोड्नेगरी सडक खन्न सुरु गरेको र केहीदिनभित्रै बेलदोभानदेखि जाँतेसम्म सडक निर्माण भईसक्ने बताए । त्रियुगा नगरपालिकाको प्रस्तावित रिङ रोड (चक्रपथ) निर्माण गर्ने तयारी भईरहेको भन्दै मेयर चौधरीले बेलदोभानदेखि रौतासम्म केबलकार निर्माण गर्ने डिपिआर बनाईसकेकाले भविष्यमा जाँते र सिद्रेलगायत आसपासका गाउँवस्तीहरु विकसित र समृद्ध हुने बताए । 


वडाध्यक्ष मानबहादुर राईले चुनावमा भोट माग्न आउँदा वडाबासी जनतालाई गरेको प्रतिबद्धता अनुसार वडाका कुनाकाप्चा सबै ठाउँका जनतालाई विकासको फल चखाउन आफुहरु लागिरहेको बताए । उनले भौगोलिक रुपमा ठूलो वडा भएकाले पश्चिमी भेगका लागि सुकौरामा सहरी स्वास्थ्य केन्द्र, वडा केन्द्र चिलाउनेमा स्वास्थ्य चौकी र पूर्वी भेगको जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र खोलेर सेवा प्रवाह गरेको बताए । उनले त्यस्तै शिक्षा, खानेपानी, सडक, विद्युत, कृषि र पशु विकास सबैक्षेत्रको काम भईरहेको बताए । 

 

वडाध्यक्ष राईले वर्षायाममा बाढी आएर वारिपारि गर्न समस्या हुने अजिङ्गरे खोलामा १ करोड ५० लाखको झोलुङ्गे पुल बनाउने गरी नगरपालिकाले ठेक्का लगाउने प्रक्रिया अघि बढाईसकेको बताए । त्यस्तै वडाका सबैतिर विद्युत सेवा पुगिसकेको भए पनि कतैकतै काठका पोल भएकाले त्यो सबै हटाएर आल्मुनियम पोल गाड्ने काम थालिएको बताए । 


प्रत्येक घरमा धारा जडान गर्न ‘एक घर एक धारा, सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ व्यवस्थित खानेपानी योजना सञ्चालनको तयारी भईरहेको पनि वडाध्यक्ष राईले बताए । यसअघि ‘एक घर एक भैंसी, खाउँ दुध नखाऔं रक्सी’ भन्ने नाराका साथ शाहीखोला आसपासका किसानलाई कृषि उद्यम गर्न प्रत्येक घर भैंसी पालनका लागि अनुदान सहयोग गरेको उनले बताए ।